२०८३ कात्तिक १३ गते
काठमाडौं । काठमाडौंस्थित नयाँ पत्रिका दैनिकको कार्यालयमा सादा पोसाकका सात जना प्रहरी पुगेका छन्। अपराध अनुसन्धान कार्यालय, टेकुबाट आएको बताउने प्रहरी टोलीले पत्रकार नवराज मैनालीलाई साइबर ब्यूरोमा उपस्थित गराउनुपर्ने भन्दै उनको खोजी गरेको हो।
नयाँ पत्रिकाका पत्रकार मिलन विश्वकर्माले दिएको जानकारी अनुसार प्रहरी टोली केहीबेरअघि कार्यालयमा प्रवेश गरी मैनालीलाई लैजानुपर्ने बताएको थियो। प्रहरी अधिकारीहरू पक्राउ पुर्जीबिना नै कार्यालयमा पुगेको र मैनालीलाई उपस्थित गराउनुपर्ने भन्दै कार्यकक्षमा बसेको उनले बताएका छन्।
उनका अनुसार प्रहरीको एउटा टोली कार्यालयभित्र रहेको छ भने अर्को टोली कार्यालयको मुख्य प्रवेशद्वारमा तैनाथ छ। प्रहरीले आफूहरू अपराध अनुसन्धान महाशाखाबाट आएको र सन्तोष खड्काको आदेशमा परिचालित भएको बताएको जनाइएको छ।
यसअघि आजै नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो।
एकै दिन दुई सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई लक्षित गर्दै प्रहरी परिचालित भएपछि पत्रकारको सुरक्षा र प्रेस स्वतन्त्रताको विषयमा प्रश्न उठेको छ।
प्रतिक्रिया