२०८३ कात्तिक २४ गते
काठमाडौँ । नेपाली मौलिक संस्कृति, धार्मिक परम्परा, ऐतिहासिक सम्पदा तथा कलाको अध्ययन र अनुसन्धानमा विशिष्ट योगदान पुर्याएकी प्राध्यापक डा. वीणा पौड्याललाई दण्डपाणि–नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार–२०८३ प्रदान गरिएको छ।
दण्डपाणि अर्ज्याल स्मृति केन्द्रले आयोजना गरेको प्रतिभा सम्मान कार्यक्रममा पौड्याललाई ५० हजार रुपैयाँ नगद राशिसहित सम्मानपत्र प्रदान गरिएको हो। नेपाली संस्कृति, कला र ऐतिहासिक सम्पदाको अध्ययन, अनुसन्धान तथा संरक्षणका क्षेत्रमा उनले पुर्याएको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको केन्द्रले जनाएको छ।
कार्यक्रममा प्रा.डा. जयराज आचार्यले राष्ट्रिय प्रतिभाहरूको योगदानको कदर गर्दै सम्मान गर्ने परम्पराले समाजमा सिर्जनशीलता र बौद्धिक कर्मलाई प्रोत्साहन मिल्ने बताए। यस्ता सम्मानले संस्कृति, साहित्य, कला र इतिहासको क्षेत्रमा क्रियाशील स्रष्टा तथा अनुसन्धानकर्तालाई थप ऊर्जा र हौसला प्रदान गर्ने उनको भनाइ थियो।
कार्यक्रममा पूर्वमन्त्री,वैज्ञानिक,इतिहासविद्,इन्जिनियर,प्राध्यापक लगायत विद्वत व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । केन्द्रले यसअघि देशको संस्कृति, कला, दर्शन, इतिहास, भाषा र साहित्यलगायत राष्ट्रिय महत्त्वका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ।
गोरखाको इतिहास, संस्कृति, शिक्षा तथा समाजसेवामा उल्लेखनीय योगदान पुर्याएका दण्डपाणि अर्ज्यालको स्मृतिमा २०६२ सालमा काठमाडौँमा दण्डपाणि अर्ज्याल स्मृति केन्द्र स्थापना गरिएको थियो। दण्डपाणि अर्ज्याल र उनकी धर्मपत्नी नन्दकुमारी अर्ज्यालको नाममा २०६३ सालदेखि राष्ट्रिय पुरस्कार प्रदान गर्ने परम्परा सुरु गरिएको हो।
राष्ट्रिय महत्त्वका विषयमा अध्ययन, अनुसन्धान र सिर्जनात्मक योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यले स्थापित यस पुरस्कारले नेपाली बौद्धिक तथा सांस्कृतिक क्षेत्रका विभिन्न प्रतिभालाई सम्मान गर्दै आएको छ।
यसअघि यो पुरस्कारबाट प्राज्ञ ज्ञानमणि नेपाल, प्रा. दिनेशराज पन्त, प्राज्ञ सत्यमोहन जोशी, प्रा.डा. सुरेशराज शर्मा, प्राज्ञ मदनमणि दीक्षित, डा. मोदनाथ प्रश्रित, प्रा.डा. सुरेन्द्र केसी, प्रा.डा. तुलसीराम वैद्य, डा. जगमान गुरुङ, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, मोहना अन्सारी, प्रा.डा. जयराज आचार्यलगायतका विशिष्ट व्यक्तित्व सम्मानित भइसकेका छन्।
प्रतिक्रिया