एक वर्षमा झण्डै २१ खर्बको विदेशी मालवस्तु आयात, ३ खर्ब १५ अर्बको निर्यात

२०८३ साउन ०८ गते

एक वर्षमा झण्डै २१ खर्बको विदेशी मालवस्तु आयात, ३ खर्ब १५ अर्बको निर्यात

काठमाडौं । गत आर्थिक वर्ष २०८२/०८३ मा नेपालले झण्डै २१ खर्ब रुपैयाँ बराबरको विदेशी मालवस्तु आयात गरेको छ भने ३ खर्ब १५ अर्ब रुपैयाँभन्दा बढीको वस्तु निर्यात गर्दै निर्याततर्फ ऐतिहासिक उपलब्धि हासिल गरेको छ।


भन्सार विभागका अनुसार गत आर्थिक वर्ष नेपालले ३ खर्ब १५ अर्ब २९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १३।८१ प्रतिशतले बढी हो। आर्थिक वर्ष २०८१र०८२ मा नेपालबाट २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो।

Advertisement:

Ad
Ad


यद्यपि, निर्यातमा सुधार देखिए पनि नेपालको अर्थतन्त्र अझै आयातमुखी नै रहेको तथ्यांकले देखाएको छ। गत आर्थिक वर्षमा नेपालले २० खर्ब ९६ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ। यससँगै व्यापार घाटा १७ खर्ब रुपैयाँभन्दा माथि पुगेको छ। विभागका अनुसार गत आर्थिक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब ६६ करोड ९५ लाख रुपैयाँ पुगेको छ। नेपालबाट मुख्य रूपमा प्रशोधित खानेतेल, अलैंची, गलैंचा लगायतका वस्तु निर्यात भएका छन्।


आयाततर्फ भने कृषिजन्य वस्तु र पेट्रोलियम पदार्थको हिस्सा अत्यधिक रहेको छ। कृषि प्रधान देश भनिए पनि कृषिमा नेपालको परनिर्भरता झन् बढ्दै गएको देखिन्छ। गत आर्थिक वर्षमा मात्रै ३ खर्ब ४१ अर्ब १९ करोड ५६ लाख ९३ हजार रुपैयाँ बराबरका विभिन्न कृषिजन्य वस्तु आयात भएका छन्। पेट्रोलियम पदार्थमध्ये सबैभन्दा बढी डिजेल आयात भएको छ। विभागका अनुसार गत आर्थिक वर्षमा ९ लाख ६४ हजार किलोलिटर डिजेल आयात हुँदा त्यसबापत १ खर्ब ७२ अर्ब २४ करोड २८ लाख रुपैयाँ विदेशिएको छ।

त्यसपछि १ खर्ब ३२ अर्ब ७६ करोड ९५ लाख रुपैयाँ बराबरको ८० करोड १२ लाख ९६ हजार लिटर कच्चा सोयाबिन तेल आयात भएको छ। यस्तै, ७ लाख ५१ हजार ६४२ किलोलिटर पेट्रोल आयात गर्दा ७७ अर्ब २६ करोड ५० लाख ११ हजार रुपैयाँ खर्च भएको छ। एलपी ग्यासतर्फ ५२ करोड ५ लाख २५ हजार किलो आयात भएको छ, जसका लागि ६० अर्ब २८ करोड ६ लाख रुपैयाँ विदेशिएको छ।

 

नेपालको आयात संरचनाले खाद्य, कृषि तथा ऊर्जाजस्ता आधारभूत आवश्यकतामा समेत विदेशी बजारमाथिको निर्भरता कायमै रहेको देखाउँछ। निर्यातमा सुधार भए पनि आयातको उच्च हिस्सा र बढ्दो व्यापार घाटाले उत्पादन वृद्धि तथा आयात प्रतिस्थापनतर्फ प्रभावकारी नीति आवश्यक रहेको देखाउँछ ।