२०८३ साउन ०८ गते
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले स्वदेशी उत्पादनको प्रयोगलाई प्रोत्साहन गर्दै डीडीसीका उत्पादनको सार्वजनिक रूपमा प्रचार गरेपछि दुग्ध विकास संस्थान (डीडीसी) को कारोबारमा सकारात्मक प्रभाव परेको छ।
संस्थानले आर्थिक वर्ष २०८२/८३ मा करिब ४ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्दै करिब ६ करोड लिटर दूध प्रशोधन तथा बजारीकरण गरेको जनाएको छ। डीडीसीका प्रवक्ता निलकण्ठ गौतम ले नयाँ सरकार र स्वदेशी उत्पादन प्रवर्द्धन अभियानका कारण डीडीसीका उत्पादनको बिक्री बढेको बताए। उनका अनुसार सरकार तथा सार्वजनिक व्यक्तित्वबाट भएको प्रचारले उपभोक्ताको आकर्षण बढाउन मद्दत पुगेको छ। नयाँ सरकार गठनपछि डीडीसीका उत्पादनबारे सकारात्मक सन्देश गएको छ। त्यसले बिक्री बढाउन सहयोग पुगेको छ, गौतमले भने।
दूध बढी हुँदा किसानलाई भुक्तानीमा ढिलाइ
गत वर्ष फ्लस सिजनमा अपेक्षाभन्दा धेरै दूध उत्पादन भएपछि त्यसलाई बटर र दूध पाउडरमा रूपान्तरण गरेर भण्डारण गर्नुपरेको थियो। यसले नगद प्रवाहमा समस्या सिर्जना हुँदा किसानलाई भुक्तानी गर्न ढिलाइ भएको गौतमले स्वीकार गरे। उनका अनुसार अहिले स्टक क्रमशः बिक्री भइरहेकाले किसानको बक्यौता भुक्तानीको अवधि ६–७ महिनाबाट घटेर २–३ महिनामा झरेको छ।
हामी कुनै पनि किसानको दूध खेर जान दिँदैनौं। बढी उत्पादन भएको बेला पाउडर र बटर बनाएर भण्डारण गर्नुपर्छ। ती उत्पादन बिक्री हुन समय लाग्दा नगद प्रवाहमा असर पर्छ, उनले भने। गौतमका अनुसार डीडीसीको मुख्य उद्देश्य किसानबाट दूध संकलन गरी गुणस्तरीय दुग्धजन्य पदार्थ उपभोक्तासम्म पुर्याउनु र बिक्रीबाट आएको रकम पुनः किसानसम्म पुर्याउनु हो। उनले डीडीसीले पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्मका किसानबाट दूध संकलन गर्ने भएकाले निजी डेरीभन्दा ढुवानी, कोल्ड चेन र व्यवस्थापनमा बढी लागत व्यहोर्नुपर्ने बताए।
हामी नाफा कमाउनेभन्दा पनि सेवामूलक उद्देश्यले सञ्चालन भएका छौं। दुर्गम क्षेत्रका किसानको दूध पनि बजारमा ल्याउनु हाम्रो जिम्मेवारी हो, उनले भने। डीडीसीले यस वर्षदेखि मोहीलाई नयाँ ब्रान्डिङका साथ बजारमा ल्याएको छ। प्राकृतिक तथा स्वास्थ्यवर्धक पेय पदार्थ भएकाले कोक, फ्यान्टा जस्ता चिनीजन्य पेय पदार्थको स्वदेशी विकल्पका रूपमा मोहीको प्रवर्द्धन गर्न थालिएको गौतमले बताए। उनका अनुसार उपभोक्ताले स्वदेशी मोहीको प्रयोग बढाए त्यसको प्रत्यक्ष लाभ गाउँका दूध उत्पादक किसानसम्म पुग्नेछ।
निजी डेरीसँग प्रतिस्पर्धा, आधुनिकीकरणको आवश्यकता
डीडीसीले निजी डेरीसँगको प्रतिस्पर्धालाई मुख्य चुनौतीका रूपमा लिएको छ। निजी डेरीहरूले उत्पादन क्षेत्र नजिकबाट दूध संकलन गरी बढी मूल्य दिन सक्ने भएकाले सरकारी संस्थालाई लागत व्यवस्थापनमा कठिनाइ हुने गरेको गौतमको भनाइ छ।
उनले डीडीसीले अझै पनि सरकारी गुणस्तर मापदण्ड पूर्ण रूपमा पालना गर्दै गुणस्तरमा अग्रस्थान कायम राखेको दाबी गरे। सन् १९८८ (वि.सं. २०४५) पछि उत्पादन प्रविधिमा उल्लेख्य लगानी हुन नसकेको उल्लेख गर्दै उनले डीडीसी अहिले पनि करिब ४० वर्ष पुरानो प्रविधि बाट सञ्चालन भइरहेको बताए। आधुनिक प्रविधिमा लगानी भए बेबी पाउडर, चकलेटलगायत मूल्य अभिवृद्धि भएका नयाँ दुग्धजन्य उत्पादन नेपालमै उत्पादन गर्न सकिने उनको भनाइ छ।
प्रतिक्रिया