२०८२ फागुन २४ गते
काठमाडौं। नेपाल राष्ट्र बैंकमा आजदेखि दुई जना डेपुटी गभर्नरको पद खाली भएको छ। फागुन २४ गतेदेखि नीलम ढुंगाना र बमबहादुर मिश्र ले नियमित अवकाश पाएपछि उक्त पद रिक्त भएको हो। उनीहरू दुवै जना २०७७ फागुन २५ गते डेपुटी गभर्नरमा नियुक्त भएका थिए। राष्ट्र बैंकको नियमअनुसार डेपुटी गभर्नरको कार्यकाल पाँच वर्षको हुन्छ।
नियमअनुसार डेपुटी गभर्नर नियुक्त हुनुअघि सम्बन्धित व्यक्ति कार्यकारी निर्देशकको पदमा कार्यरत हुनुपर्ने व्यवस्था छ। त्यसैले हाल राष्ट्र बैंकमा कार्यरत १८ जना कार्यकारी निर्देशकहरू सबै डेपुटी गभर्नर बन्ने सम्भावित उम्मेदवारका रूपमा योग्य मानिन्छन्।
डेपुटी गभर्नर नियुक्तिको प्रक्रिया अनुसार गभर्नरले कार्यकारी निर्देशकहरूमध्ये चार जनाको नाम सिफारिस गर्ने र तीमध्येबाट दुई जनालाई मन्त्रिपरिषद्ले डेपुटी गभर्नरमा नियुक्त गर्ने प्रावधान रहेको छ।हाल कार्यकारी निर्देशकका रूपमा कार्यरत अधिकारीहरूमा नरेश शाक्य, रेवती नेपाल, रामु पौडेल, विश्रुत थापा, दयाराम शर्मा, गुरुप्रसाद पौडेल, किरण पण्डित, सत्येन्द्र तिमल्सिना र चेतप्रसाद उप्रेती रहेका छन्।
यसैगरी रोशनकुमार सिग्देल, रामशरण खरेल, डिल्लीराम पोखरेल, दीर्घबहादुर रावल, निश्चल अधिकारी, अनुज दाहाल, दीपकराज लामिछाने, राजनविक्रम थापा र राजेन्द्र भट्टराई पनि कार्यकारी निर्देशकका रूपमा जिम्मेवारी सम्हालिरहेका छन्।
प्रतिक्रिया