२०८३ कात्तिक ३० गते
काठमाडौं । अघिल्लो वर्षको पहिलो त्रैमासमा १० करोड रुपैयाँभन्दा बढी घाटा व्यहोरेको एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो तीन महिनामै नाफा कमाएको छ। कम्पनीले असोज मसान्तसम्म ३ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो।
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी १० करोड १० लाख रुपैयाँभन्दा बढी घाटामा थियो। एक वर्षको अवधिमा कम्पनीले वित्तीय अवस्थामा उल्लेख्य सुधार गर्दै घाटाबाट नाफातर्फको यात्रा तय गरेको हो। बीमाशुल्क आर्जनमा भएको वृद्धि, कुल आम्दानीमा सुधार तथा दाबी भुक्तानी र सञ्चालन खर्चमा आएको कमीले कम्पनीको नाफा बढाउन सहयोग गरेको देखिन्छ।
कम्पनीको बीमाशुल्क आर्जनमा उल्लेख्य विस्तार भएको छ। गत वर्षको पहिलो त्रैमासमा ८२ करोड २१ लाख ६६ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको एनएलजीले चालु आवको सोही अवधिमा १ अर्ब १७ करोड ४२ लाख रुपैयाँ पुर्याएको छ। यो गत वर्षको तुलनामा ४२.८१ प्रतिशतको वृद्धि हो।
त्यस्तै, खुद बीमाशुल्क आर्जन पनि १७ करोड ५७ लाख रुपैयाँबाट बढेर २१ करोड १० लाख रुपैयाँ पुगेको छ। बीमा व्यवसायको दायरा विस्तार भएसँगै कम्पनीको आम्दानीमा समेत सकारात्मक प्रभाव परेको देखिन्छ।चालु आवको पहिलो त्रैमासमा कम्पनीको कुल आम्दानी ४७ करोड ९१ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ३९ करोड ४० लाख रुपैयाँ थियो। यसरी एक वर्षमा कुल आम्दानी २१.५९ प्रतिशतले बढेको छ।
आम्दानी बढ्नुका साथै खर्च व्यवस्थापनमा देखिएको सुधार पनि कम्पनीको नाफा वृद्धिको अर्को आधार बनेको छ। गत वर्षको पहिलो त्रैमासमा ६४ करोड २३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको कम्पनीले यस वर्षको सोही अवधिमा ५५ करोड ३३ लाख रुपैयाँ मात्रै भुक्तानी गरेको छ। दाबी भुक्तानी रकम अघिल्लो वर्षको तुलनामा १३.८४ प्रतिशतले घटेको हो।
यसैगरी, कम्पनीको सञ्चालन खर्च पनि घटेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५४ करोड २७ लाख रुपैयाँ रहेको सञ्चालन खर्च चालु आवको सोही अवधिमा ४४ करोड ५४ लाख रुपैयाँमा झरेको छ। यसमा १७.९३ प्रतिशतको कमी आएको छ। आम्दानी बढ्दै जाँदा दाबी भुक्तानी र सञ्चालन खर्चमा आएको कमीले नाफामा सुधार ल्याउन भूमिका खेलेको देखिन्छ।
नाफामा आएको सुधारको प्रभाव कम्पनीको प्रतिशेयर आम्दानीमा पनि देखिएको छ। गत वर्षको पहिलो त्रैमासमा प्रतिशेयर १५ रुपैयाँ ७६ पैसा ऋणात्मक रहेको आम्दानी यस वर्ष धनात्मक हुँदै ५ रुपैयाँ ३० पैसा पुगेको छ।कम्पनीको चुक्ता पुँजी २ अर्ब ६६ करोड रुपैयाँ छ। विशेष जगेडा कोषमा १ अर्ब ४३ करोड ७८ लाख रुपैयाँ सञ्चित रहेको छ। त्यस्तै, कम्पनीको कुल सम्पत्तिमा पनि वृद्धि भएको छ। गत आर्थिक वर्षको अन्त्यमा ९ अर्ब ५ करोड रुपैयाँ रहेको कुल सम्पत्ति चालु आवको असोज मसान्तसम्म आइपुग्दा १० अर्ब २४ करोड रुपैयाँ पुगेको छ।
कम्पनीको प्रतिशेयर नेटवर्थ १६६ रुपैयाँ ५० पैसा रहेको छ भने प्रतिशेयर कुल सम्पत्ति ३८४ रुपैयाँ ७ पैसा पुगेको छ।
प्रतिक्रिया