२०८३ कात्तिक ३० गते
काठमाडौं । वाणिज्य बैंकहरूमा पैसा जम्मा गरेर ब्याज आम्दानी गर्ने निक्षेपकर्ताको प्रतिफल थप घटेको छ। मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका वाणिज्य बैंकमध्ये अधिकांशले ब्याजदर यथावत् राख्दा केही बैंकले भने घटाएका छन्। यससँगै व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ४ प्रतिशतभन्दा तल झरेको छ।
मंसिरका लागि ब्याजदर निर्धारण गरेका २० वाणिज्य बैंकमध्ये ६ वटाले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बाँकी १४ बैंकले कात्तिककै ब्याजदरलाई निरन्तरता दिएका छन्। कुनै पनि बैंकले निक्षेपको ब्याजदर बढाएका छैनन्।
बैंकहरूले सार्वजनिक गरेको विवरणअनुसार व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर कात्तिकमा ४.०१३ प्रतिशत रहेकोमा मंसिरमा घटेर ३.९०६ प्रतिशतमा सीमित भएको छ। अर्थात् बैंकमा पैसा राख्दा प्राप्त हुने औसत प्रतिफल अब ४ प्रतिशतभन्दा पनि कम भएको छ।
संस्थागत निक्षेपको ब्याजदर पनि ओरालो लागेको छ। कात्तिकमा औसत ३.००३ प्रतिशत रहेको संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर मंसिरमा घटेर २.९९०५ प्रतिशत कायम भएको छ।
माछापुच्छ्रेले सबैभन्दा धेरै घटायो
मंसिरका लागि ब्याजदर घटाउने बैंकमध्ये माछापुच्छ्रे बैंकले सबैभन्दा ठूलो कटौती गरेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर एकैपटक १ प्रतिशतविन्दुले घटाएर ४.५ प्रतिशतबाट ३.५ प्रतिशतमा झारेको छ।
कृषि विकास बैंकले पनि ब्याजदर ०.५ प्रतिशतविन्दुले घटाएको छ। यससँगै बैंकको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ३.६५ प्रतिशत कायम भएको छ।
एनएमबी बैंकले व्यक्तिगत र संस्थागत दुवै निक्षेपको ब्याजदर समान ०.२५ प्रतिशतविन्दुले घटाएको छ। बैंकले अब व्यक्तिगत निक्षेपमा ४.२५ प्रतिशत र संस्थागत निक्षेपमा ३.२५ प्रतिशत ब्याज दिनेछ।
त्यस्तै, लक्ष्मी सनराइज बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.२५ प्रतिशतविन्दुले घटाएर ३.७५ प्रतिशत कायम गरेको छ। कुमारी बैंकले ०.०९ प्रतिशतविन्दुले घटाएर ३.६१ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.०५ प्रतिशतविन्दुले घटाएर ३.६५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्।
सानिमाको ब्याजदर सबैभन्दा बढी
मंसिर महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याज दिने बैंक सानिमा बनेको छ। बैंकले व्यक्तिगत निक्षेपमा अधिकतम ४.५ प्रतिशत ब्याजदर कायम गरेको छ। संस्थागत निक्षेपमा भने ३.५१ प्रतिशत ब्याज दिने भएको छ।
त्यसपछि प्रभु बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ४.२५ प्रतिशत र नेपाल बैंकले ४.१५ प्रतिशत ब्याज दिने भएका छन्।
हिमालयन बैंक, एनआईसी एसिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबीआई बैंक, प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकले भने व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४ प्रतिशतमा यथावत् राखेका छन्।
बैंकहरूबीच निक्षेप संकलनका लागि ब्याजदर बढाउने प्रतिस्पर्धा नदेखिनुले बैंकिङ प्रणालीमा निक्षेपको आवश्यकता र उपलब्धताबीचको अवस्था तथा कर्जाको मागसँग सम्बन्धित वित्तीय वातावरणलाई पनि संकेत गर्छ। निक्षेपको ब्याजदर निरन्तर घट्दा बचतकर्ताले बैंकमा रकम राखेर प्राप्त गर्ने प्रतिफल भने थप खुम्चिँदै गएको छ।
प्रतिक्रिया