२०८३ साउन २७ गते
काठमाडौँ । मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा १ अर्ब ५१ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.४४ प्रतिशतले बढेको हो। अघिल्लो वर्ष बैंकले १ अर्ब ३५ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको सञ्चालन नाफा भने २०.२३ प्रतिशतले बढेर २ अर्ब ४२ करोड २७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो नाफा २ अर्ब १ करोड ५० लाख रुपैयाँ थियो।
बैंकको खुद ब्याज आम्दानी ३.६३ प्रतिशतले बढेर ४ अर्ब ७४ करोड ३८ लाख रुपैयाँ पुगेको छ। यस्तै, कुल सञ्चालन आम्दानी ३.८९ प्रतिशतले बढेर ५ अर्ब ३९ करोड ८२ लाख रुपैयाँ पुगेको छ। बैंकको शुल्क तथा कमिसन आम्दानी भने १.५० प्रतिशतले घटेर ५४ करोड ९८ लाख रुपैयाँमा सीमित भएको छ।
समीक्षा अवधिमा बैंकको ग्राहक निक्षेप ५.२० प्रतिशतले बढेर १ खर्ब २३ अर्ब ५३ करोड ९४ लाख रुपैयाँ पुगेको छ। कर्जा तथा सापटी प्रवाह भने ३.३८ प्रतिशतले बढेर १ खर्ब ५ करोड ८ लाख रुपैयाँ पुगेको छ। बैंकको कर्जा–निक्षेप अनुपात ८३.८६ प्रतिशतमा झरेको छ।
यता, बैंकको खराब कर्जा (एनपीएल) भने बढेको छ। अघिल्लो आर्थिक वर्षको २.९७ प्रतिशत रहेको खराब कर्जा बढेर समीक्षा अवधिमा ४.७७ प्रतिशत पुगेको छ। बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १९ रुपैयाँ १६ पैसाबाट घटेर १८ रुपैयाँ ९८ पैसा कायम भएको छ। त्यस्तै, प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ९५ पैसाबाट घटेर १६१ रुपैयाँ ८२ पैसा मा झरेको छ।
बैंकको आधार दर भने अघिल्लो वर्षको ७.१० प्रतिशतबाट घटेर ५.५७ प्रतिशत पुगेको छ। यद्यपि, ब्याजदर स्प्रेड ३.८७ प्रतिशतबाट बढेर ४.५५ प्रतिशत पुगेको वित्तीय विवरणमा उल्लेख छ। समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी १३.५३ प्रतिशतले बढेर ८ अर्ब रुपैयाँ पुगेको छ। यस्तै, बैंकको वितरणयोग्य नाफा भने ६७ करोड ५८ लाख रुपैयाँमा झरेको छ, जुन अघिल्लो वर्षको १ अर्ब ३५ करोड ४१ लाख रुपैयाँको तुलनामा ५०.१० प्रतिशत कम हो।
प्रतिक्रिया