२०८३ साउन २० गते
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफामा उल्लेख्य सुधार गरेको छ। कर्जा विस्तार, खुद ब्याज आम्दानीमा वृद्धि तथा सम्भावित कर्जा नोक्सानीका लागि छुट्याउनुपर्ने प्रोभिजन खर्च घटेका कारण बैंकको नाफा झण्डै ४८.५ प्रतिशतले बढेको हो।
बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष ६२ करोड ९९ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ४२ करोड ४३ लाख १८ हजार रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा बैंकको खुद नाफा २० करोड ५६ लाख रुपैयाँ अर्थात् ४८.४६ प्रतिशतले बढेको देखिन्छ।
नाफामा सुधारसँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ। अघिल्लो वर्ष ९.८८ रुपैयाँ रहेको ईपीएस यस वर्ष १३.९६ रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकले आर्जन गरेको वितरणयोग्य नाफा ४६ करोड ५१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सञ्चित नाफासमेत समायोजन गर्दा प्रतिसेयर वितरणयोग्य नाफा १०.३१ रुपैयाँ रहेको छ, जसले बैंकमा १० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्ने क्षमता रहेको संकेत गर्छ।
खुद ब्याज आम्दानीमा सुधार
समीक्षा अवधिमा बैंकको मुख्य आम्दानी स्रोत रहेको खुद ब्याज आम्दानी १ अर्ब ९४ करोड १२ लाख रुपैयाँबाट बढेर २ अर्ब १४ करोड ८७ लाख रुपैयाँ पुगेको छ। अर्थात्, एक वर्षमा २० करोड ७५ लाख रुपैयाँले खुद ब्याज आम्दानी बढेको हो।
ब्याजदर अन्तर (स्प्रेड रेट) ४.४८ प्रतिशतबाट घटेर ४.१९ प्रतिशतमा सीमित हुँदा पनि बैंकले ब्याज आम्दानी बढाउन सफल भएको छ। त्यस्तै, खुद शुल्क तथा कमिसन आम्दानी पनि २० करोड ६५ लाख रुपैयाँबाट बढेर २३ करोड ४ लाख रुपैयाँ पुगेको छ।
प्रोभिजन खर्च घट्दा नाफामा टेवा
बैंकको नाफा वृद्धिको प्रमुख कारणमध्ये सम्भावित कर्जा नोक्सानीका लागि छुट्याउनुपर्ने प्रोभिजन खर्चमा आएको कमी पनि हो। गत असार मसान्तसम्म बैंकले ३१ करोड ५६ लाख ८० हजार रुपैयाँ मात्रै प्रोभिजन गरेको छ। अघिल्लो वर्ष यही शीर्षकमा ५१ करोड ७३ लाख ७२ हजार रुपैयाँ छुट्याएको थियो।
प्रोभिजन खर्च घटेसँगै सञ्चालन मुनाफा पनि उल्लेख्य बढेको छ। अघिल्लो वर्ष ६१ करोड १४ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा यस वर्ष ९३ करोड ७९ लाख रुपैयाँ पुगेको छ।
एनपीएल बढ्यो, तर पूँजी पर्याप्तता आधार बलियो
सकारात्मक वित्तीय सूचकबीच बैंकको निष्क्रिय कर्जा (एनपीएल) भने बढेको छ। अघिल्लो वर्ष ४.९८ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष ६.३२ प्रतिशत पुगेको छ। यद्यपि, खुद निष्क्रिय कर्जा अनुपात १.५२ प्रतिशतमा सीमित रहेको बैंकले जनाएको छ।
बैंकको पूँजी पर्याप्तता अवस्था भने थप सुदृढ बनेको छ। कुल पुँजी कोष अनुपात १७.०६ प्रतिशतबाट बढेर १७.५७ प्रतिशत पुगेको छ भने प्राथमिक पुँजी अनुपात १३.५३ प्रतिशतबाट १४.०४ प्रतिशत पुगेको छ।
यसैबीच, कोषको लागत ४.५६ प्रतिशतबाट घटेर ३.६२ प्रतिशतमा झरेको छ भने आधार दर पनि ६.९४ प्रतिशतबाट घटेर ५.६६ प्रतिशत कायम भएको छ।
कर्जा बढ्यो, निक्षेप स्थिर
बैंकको कुल निक्षेप अघिल्लो वर्षको ५५ अर्ब ११ करोड ५४ लाख रुपैयाँबाट सामान्य घटेर ५५ अर्ब ९ करोड ९२ लाख रुपैयाँमा सीमित भएको छ। तर, ग्राहक कर्जा भने ४१ अर्ब ५१ करोड ४ लाख रुपैयाँबाट बढेर ४३ अर्ब ३४ करोड १३ लाख रुपैयाँ पुगेको छ।
चुक्ता पुँजी ४ अर्ब ५१ करोड १२ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोष पनि २ अर्ब ४८ करोड ६१ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा वृद्धि हो।
असार मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ १६५.४२ रुपैयाँ, सीडी रेसियो ८६.८२ प्रतिशत, पीई रेसियो२४.७८ गुणा तथा आरओई ८.६६ प्रतिशत रहेको छ।
प्रतिक्रिया