कर्जा र निक्षेप विस्तार गरेको कृषि विकास बैंकको नाफा भने खुम्चियो

२०८३ साउन २१ गते

कर्जा र निक्षेप विस्तार गरेको कृषि विकास बैंकको नाफा भने खुम्चियो

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको गत आर्थिक वर्षको वित्तीय विवरणमा नाफासहित अधिकांश प्रमुख सूचकमा गिरावट देखिएको छ। बैंकले सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार आव २०८२/८३ मा बैंकले २ अर्ब ६३ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको ३ अर्ब ७३ करोड २४ लाख रुपैयाँको तुलनामा २९.५२ प्रतिशतले कम हो।

 

Advertisement:

Ad
Ad

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ। अघिल्लो आवमा ९ अर्ब ४४ करोड ७४ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी ३.४५ प्रतिशतले घटेर ९ अर्ब १२ करोड १५ लाख रुपैयाँमा सीमित भएको छ।

 

यद्यपि बैंकको खुद फि तथा कमिसन आम्दानी भने वृद्धि भएको छ। यो आम्दानी १ अर्ब ५६ करोड ५२ लाख रुपैयाँबाट बढेर १ अर्ब ७१ करोड ६० लाख रुपैयाँ पुगेको छ। तर, अन्य आम्दानीमा आएको गिरावटका कारण कुल सञ्चालन आम्दानी ११ अर्ब ७० करोड ३० लाख रुपैयाँबाट ४.१५ प्रतिशतले घटेर ११ अर्ब २१ करोड ७९ लाख रुपैयाँमा झरेको छ।

 

सञ्चालन आम्दानीमा आएको कमीले बैंकको सञ्चालन मुनाफामा पनि उल्लेख्य असर परेको छ। अघिल्लो आवको ५ अर्ब २१ करोड ८ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा २४.३२ प्रतिशतले घटेर ३ अर्ब ९४ करोड ३६ लाख रुपैयाँमा सीमित भएको छ। यससँगै वितरणयोग्य मुनाफा पनि २ अर्ब ८१ करोड ६६ लाख रुपैयाँबाट ५५.१९ प्रतिशतले घटेर १ अर्ब २६ करोड २२ लाख रुपैयाँमा झरेको छ।

 

बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) २४.५९ रुपैयाँबाट घटेर १६.११ रुपैयाँमा झरेको छ। त्यस्तै, खराब कर्जा (एनपीएल) ३.४४ प्रतिशतबाट बढेर ४.०७ प्रतिशत पुगेको छ। आधारदर भने ५.८७ प्रतिशतबाट घटेर ४.५६ प्रतिशतमा झरेको छ। समीक्षा अवधिको अन्त्यमा बैंकको प्रतिशेयर नेटवर्थ २३१.७१ रुपैयाँ कायम भएको छ।

 

हाल बैंकको चुक्ता पूँजी १९ अर्ब २८ करोड ७९ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १७ अर्ब ९० करोड ५९ लाख रुपैयाँ सञ्चित छ। यसबीच बैंकको कर्जा लगानी २ खर्ब १२ अर्ब १६ करोड रुपैयाँबाट बढेर २ खर्ब ४७ अर्ब १६ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, निक्षेप संकलन पनि २ खर्ब ९३ अर्ब ३५ करोड रुपैयाँबाट बढेर ३ खर्ब ४७ अर्ब २१ करोड रुपैयाँ पुगेको छ।