२०८३ साउन २२ गते
काठमाडौं । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको कर्जा अपचलन गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत (सिइओ)नीरज विक्रम शाह रहेका छन् । शाहसहित उनकी श्रीमती शुभेक्षा श्रेष्ठ तथा कर्णाली विकास बैंकको नेपालगन्ज शाखाकी तत्कालीन शाखा प्रबन्धक दीपा थापा रहेका छन् । उनीहरूलाई शुक्रबार नेपालगन्जबाट पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार बैंकसँग सम्बन्धित आर्थिक अनियमितता तथा बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धानका लागि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
यही प्रकरणमा प्रहरीले सवा तीन अर्ब रुपैयाँ विगो दाबी गर्दै १०९ जनाविरुद्ध मुद्दा दायर गरिसकेको छ । गत वर्ष साउनमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले बैंकका विभिन्न समयका संचालक, कर्मचारी र अन्य व्यक्तिको मिलेमतोमा ३ अर्ब २० करोड रुपैयाँ घोटाला भएको निष्कर्षसहित १११ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गर्नुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सोही वर्ष साउनमै उच्च अदालत तुलसीपुरको नेपालगंज इजलासले तीन जनालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो ।
यो घटना सार्वजनिक भएपछि नेपाल राष्ट्र बैंकले गत पुस १० मा बैंकलाई समस्याग्रस्त घोषणा गरी व्यवस्थापन आफैले सम्हालेको थियो।
प्रतिक्रिया