२०८३ साउन २१ गते
काठमाडौं । ज्योति विकास बैंकले आर्थिक वर्ष २०८२/८३ मा उल्लेखनीय वित्तीय सुधार गर्दै खुद नाफामा ९०५.७५ प्रतिशतको वृद्धि हासिल गरेको छ। बैंकले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा १ अर्ब ५९ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको हो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकको खुद नाफा १० करोड २० हजार रुपैयाँमा सीमित थियो।
बैंकको मुख्य आम्दानी स्रोत मानिने खुद ब्याज आम्दानी पनि ११.७७ प्रतिशतले बढेको छ। समीक्षा अवधिमा बैंकले २ अर्ब ३४ करोड १९ लाख ७० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जबकि अघिल्लो वर्ष यो रकम २ अर्ब ९ करोड ५३ लाख १३ हजार रुपैयाँ रहेको थियो।
यस्तै, बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २८ करोड ५२ लाख २४ हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको १६ करोड २९ लाख ३७ हजार रुपैयाँभन्दा उल्लेखनीय रूपमा बढी हो। कुल सञ्चालन आम्दानी २ अर्ब ८१ करोड ३५ लाख ६६ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा १ अर्ब ७९ करोड ३७ लाख ५० हजार रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष बैंकको सञ्चालन आम्दानी २ अर्ब ४७ करोड ६ लाख ४४ हजार रुपैयाँ र सञ्चालन नाफा ३८ करोड ९२ लाख २१ हजार रुपैयाँ थियो।
गत आर्थिक वर्षमा बैंकले १४ करोड ४३ लाख ६४ हजार रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ। ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा समीक्षा अवधिसम्म २ अर्ब ९७ करोड ५४ लाख ३ हजार रुपैयाँ सञ्चित रहेको छ।
व्यवसाय विस्तारतर्फ पनि बैंकले सकारात्मक प्रगति गरेको छ। असार मसान्तसम्म निक्षेप संकलन ११.१५ प्रतिशतले बढेर ६७ अर्ब २२ करोड ९२ लाख रुपैयाँ पुगेको छ। कर्जा लगानी पनि ८.८३ प्रतिशतले बढेर ४९ अर्ब ५८ करोड ३९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकले ६० अर्ब ४८ करोड २५ लाख रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब २३ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। समीक्षा अवधिमा बैंकको निक्षेप–कर्जा अनुपात ८१.०७ प्रतिशत रहेको छ।
नाफामा भएको तीव्र वृद्धिसँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि उल्लेख्य रूपमा सुधारिएको छ। अघिल्लो वर्ष .।२८ रुपैयाँ रहेको ईपीएस बढेर २२.८८ रुपैयाँ पुगेको छ। बैंकको मूल्य–आम्दानी अनुपात (पीई रेसियो) १४।८२ गुणा र प्रतिसेयर नेटवर्थ १७०.९७ रुपैयाँ कायम भएको छ।
साथै, बैंकले कर्जा गुणस्तरमा पनि सुधार गरेको छ। अघिल्लो वर्ष ७.७५ प्रतिशत रहेको खराब कर्जा अनुपात घटाएर ६.५५ प्रतिशतमा झार्न बैंक सफल भएको छ।
प्रतिक्रिया