फ्रान्समा हिंसा र लुटपाट मच्चिएपछि देशभर ७० हजार सुरक्षाकर्मी परिचालन गर्दै सरकार

२०८३ कात्तिक ०८ गते

फ्रान्समा हिंसा र लुटपाट मच्चिएपछि देशभर ७० हजार सुरक्षाकर्मी परिचालन गर्दै सरकार

काठमाडौँ । फ्रान्समा गत साता भएका प्रदर्शनका क्रममा दंगा भड्किएपछि फ्रान्सेली सरकारले यस सप्ताहान्तमा हुन सक्ने प्रदर्शन र झडप नियन्त्रण गर्न देशभर करिब ७० हजार सुरक्षाकर्मी परिचालन गर्ने भएको छ ।

विद्यालयको वातावरण र शैक्षिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै माध्यमिक तहका विद्यार्थीहरूले सुरु गरेको प्रदर्शन देशव्यापी बनेको थियो । आन्दोलनमा बढ्दो महँगी र जीवनयापनको लागतप्रति सर्वसाधारणको असन्तुष्टिसमेत जोडिएपछि परिस्थिति थप तनावपूर्ण बनेको हो ।

Advertisement:

Ad

पेरिसमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लरेन्ट नुनेजले शनिबार करिब ७० हजार सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिए । उनले सामाजिक सञ्जालमार्फत हिंसा र लुटपाट गर्न उक्साउने सन्देशहरू फैलिरहेको भन्दै सम्भावित अशान्तिप्रति सचेत रहन आग्रह गरे ।

राष्ट्रपति इमानुएल म्याक्रोनको कार्यकाल अन्त्यतिर पुगिरहेका बेला र नयाँ निर्वाचन हुन ६ महिना मात्र बाँकी रहेको अवस्थामा प्रदर्शन चर्किएको हो । हालैको एक सर्वेक्षणले अतिदक्षिणपन्थी नेतृ मरिन ले पेनलाई राष्ट्रपतीय प्रतिस्पर्धामा अग्रस्थानमा देखाएको छ । पछिल्ला घटनाक्रमले उनको राजनीतिक अवस्था थप बलियो बनाएको आकलन गरिएको छ ।

यसैबीच, ले पेन नेतृत्वको नेसनल र्‍याली ९आरएन० पार्टीले यस सप्ताहान्तमा ओर्लियन्स सहरमा महाधिवेशन आयोजना गर्दैछ । कार्यक्रममा हजारौँ समर्थक सहभागी हुने अपेक्षा गरिएको छ । सोही सहरमा पार्टीविरुद्ध प्रदर्शन गर्ने समूहहरू पनि जुट्ने तयारीमा रहेकाले सम्भावित झडपलाई लिएर स्थानीय प्रशासन चिन्तित छ ।


शुक्रबार राष्ट्रपति म्याक्रोनले माध्यमिक विद्यालयका विद्यार्थी प्रतिनिधिहरूसँग छलफल गरेका थिए । तर, भेटपछि विद्यार्थी प्रतिनिधिहरूले सरकारले माग सम्बोधन गर्ने ठोस प्रस्ताव नल्याएसम्म आन्दोलन जारी राख्न आफ्ना सहपाठीहरूलाई आह्वान गरेका छन् ।

म्याक्रोन सरकारले प्रदर्शनकारीका जायज माग र गत शनिबार भएका लुटपाट, आगजनी तथा तोडफोडका घटनालाई अलग–अलग रूपमा हेर्नुपर्ने बताएको छ ।