२०८१ साउन १४ गते
काठमाडौँ । नैतिक चरित्रमा व्यापक प्रश्न उठेका निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानले संसदीय सुनुवाई समितिबाट अनुमोदन नहुने भएपछि आफैं नाम फिर्ता लिएका छन् । उनले संसदीय सुनुवाइ समितिलाई पत्र पठाइ आफू प्रक्रियाबाट अलग भएको जानकारी गराएका हुन् ।
नाम फिर्ता लिने तयारी गरेपछि संसदीय सुनुवाई समितिको बैठक सोमबार बिहान साढे ११ बजेबाट अपरान्ह ५ बजेका लागि सारिएको थियो । समितिको बैंठक आज ५ बजे बस्ने तय भएको छ ।
यौन शोषणको आरोप लागेका प्रधानकोबारेमा पीडित महिलाले समितिमै आएर बयान दिइसकेको र उनको चरित्रमा व्यापक प्रश्न उठेकाले नाम अघि बढाउन नसकिने साझा निष्कर्षमा ओली र देउवा पुगेका थिए । सोमबार कांग्रेस र एमालेका सांसदहरूले पनि आन्तरिक छलफल गरी अनुमोदन नगर्ने निष्कर्ष निकालेका थिए ।
त्यसबारे जानकारी पाएपछि आफ्नो रक्षाका लागि प्रधानले समितिको बैठक बस्नु अघि नै नाम फिर्ता लिने बाटो अपनाएका हुन् । संसदीय समितिबाट अस्वीकृत भएपछि उनको चरित्रमाथिको प्रश्नको वैधानिकीकरण हुने भएकाले प्रधान समिति उक्त निष्कर्षमा पुग्नु अगावै बाहिरिएका हुन् ।
प्रतिक्रिया