२०८३ असोज १७ गते
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा करिब साढे आठ वर्ष सेवा गरेकी शाखा अधिकृत सिर्जना तिवारीले मन्त्रालयबाट बिदा हुँदै आफ्नो अनुभव सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन् ।
२०७५ वैशाख १२ गते मन्त्रालयमा हाजिर भएकी तिवारीले २०८३ असोज १६ गतेसम्म मन्त्रालयमा काम गरेको उल्लेख गरेकी छन् । उनले क्षेत्रीय तथा द्विपक्षीय व्यापार तथा पारवहन शाखामा मात्रै लगातार साढे पाँच वर्ष काम गरेको र करिब सात महिना वाणिज्य विभागमा समेत जिम्मेवारी सम्हालेको बताएकी छन् ।
आफ्नो अनुभव सुनाउँदै तिवारीले मन्त्रालयमा कर्मचारीबीचको ‘राजनीतिक गेम’ समेत देखेको उल्लेख गरेकी छन् । उनका अनुसार कर्तव्यप्रति इमानदार भएर काम गर्ने कर्मचारी आफ्नो जिम्मेवारीमा केन्द्रित हुने गरे पनि अवसर खोज्नेहरूले राजनीतिक पहुँचका आधारमा अवसर लिने गरेको आफूले अनुभव गरेको बताएकी छन् ।
उनले प्रशासनिक नेतृत्वले काम गर्ने कर्मचारीभन्दा राजनीतिक पहुँच भएका कर्मचारीलाई प्राथमिकता दिने गरेको र कतिपय अवस्थामा सम्बन्धित शाखाको कार्यक्षेत्रमा पर्ने कामसमेत राजनीतिक पहुँचका आधारमा अन्य शाखालाई दिइएको आफूले देखेको दाबी गरेकी छन् ।
यद्यपि, मन्त्रालयमा रहँदा आफूले पाएको जिम्मेवारी निस्वार्थ र इमानदारीपूर्वक पूरा गरेको तिवारीले बताएकी छन् । उनले नेपाल–बंगलादेश, नेपाल–अमेरिका, नेपाल–भुटानलगायतका द्विपक्षीय व्यापार वार्तामा सहभागी हुनुका साथै विभिन्न अन्तर्राष्ट्रिय बैठकका एजेन्डा तयारीदेखि वार्तामा सहभागितासम्मको अनुभव हासिल गरेको उल्लेख गरेकी छन् ।
मन्त्रालयमा रहँदा नेपालको उद्योग, वाणिज्य तथा आपूर्तिको अवस्था बुझ्ने अवसर पाएको भन्दै उनले तत्कालीन सामान्य प्रशासन सचिव शंकरप्रसाद कोइराला र वाणिज्य सचिव चन्द्र घिमिरेप्रति आभार व्यक्त गरेकी छन् । सहकर्मी, कार्यालय सहयोगी, सवारी चालक तथा सम्पूर्ण कर्मचारीको सहयोगप्रति पनि उनले धन्यवाद दिएकी छन् ।
अब मोरङको रंगेली नगरपालिकामा जिम्मेवारी सम्हाल्न मन्त्रालयबाट रमाना लिएसँगै आफूलाई ‘पिँजडामा थुनिएको चरा स्वतन्त्र भएर खुला आकाशमा उडेको’ अनुभूति भएको तिवारीले लेखेकी छन् ।
स्थानीय तहमा काम गर्न सहज नभए पनि आफ्नो जागिरे जीवनको ‘टर्निङ पोइन्ट’ हुनेमा विश्वस्त रहेको उल्लेख गर्दै उनले ‘शरीरमा एक मुठ्ठी प्राण रहेसम्म निजामती सेवाको गरिमा बढाउन लागिरहने’ प्रतिबद्धता जनाएकी छन् ।
प्रतिक्रिया