२०८३ असोज १४ गते
काठमाडौं । खाद्य उत्पादन क्षेत्रमा सक्रिय अमूदी फुड्स लिमिटेडले सर्वसाधारणका लागि १० करोड रुपैयाँ बराबरको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने तयारी अघि बढाएको छ। कम्पनीले आईपीओ निष्कासनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउँदै प्रस्तावित कार्यतालिका सार्वजनिक गरेको हो।
कम्पनीको प्रस्तावित पूँजी संरचनाअनुसार कुल जारी पूँजी ४२ करोड रुपैयाँ रहेको छ। त्यसमध्ये ३२ करोड रुपैयाँ संस्थापक समूहका लागि र १० करोड रुपैयाँ सर्वसाधारणका लागि छुट्याइएको छ।
आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भइसकेको छ। कम्पनीले इन्फोमेरिक्स नेपालबाट ‘बी प्लस’ इसुअर रेटिङसमेत प्राप्त गरेको जनाएको छ। हाल अन्डरराइटरसँग सम्झौता, विवरणपत्र तयारी तथा कम्पनी रजिस्ट्रारको कार्यालयसँग सम्बन्धित प्रक्रिया अघि बढिरहेको छ।
कम्पनीले २०८३ मंसिरभित्र नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनका लागि आवेदन दिने र २०८४ जेठसम्म स्वीकृति प्राप्त गर्ने लक्ष्य राखेको छ। यद्यपि, वास्तविक समय नियामकीय प्रक्रिया र स्वीकृतिमा निर्भर रहने कम्पनीले जनाएको छ।
व्यवसाय विस्तार तथा कार्यसञ्चालनका लागि कम्पनीले विभिन्न स्रोतबाट कुल ५० करोड रुपैयाँ जुटाउने योजना बनाएको छ। जसमा १९ करोड रुपैयाँ ऋण, १४ करोड रुपैयाँ जग्गा बिक्री, १० करोड रुपैयाँ आईपीओ र ७ करोड रुपैयाँ निजी प्लेसमेन्टबाट जुटाउने योजना छ।
अमूदी फुड्सले आगामी वर्षहरूमा नुडल्स उत्पादनको नयाँ लाइन थप्नुका साथै नयाँ उत्पादन बजारमा ल्याउने योजना बनाएको छ। नयाँ उत्पादन लाइन सञ्चालनमा आएपछि आर्थिक वर्ष २०८४/८५ देखि कम्पनीको आम्दानीमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ।
वि.सं. २०६९ मा स्थापना भएको कम्पनीको कर्पोरेट कार्यालय काठमाडौंको कोटेश्वरमा तथा उत्पादन कारखाना चितवनको भरतपुरमा रहेको छ। कम्पनीमा हाल करिब ११५ जना कर्मचारी कार्यरत छन्।
प्रतिक्रिया