२०८३ असोज १४ गते
नेपालगञ्ज । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारीको क्षमता, कार्यदक्षता र व्यावसायिक सीप अभिवृद्धि गर्ने उद्देश्यले नेपालगञ्जस्थित होटल सिद्धार्थमा चारदिने ‘इम्प्लोई स्कील इन्हान्समेन्ट वर्कसप’ सम्पन्न गरेको छ ।
कम्पनीका अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन टोली, विभागीय प्रमुख तथा प्रशासनिक कर्मचारी गरी ३०० जना भन्दा बढिको सहभागिता रहेको थियो ।
कार्यक्रमको समुद्घाटन अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहले गरिन्। समुद्घाटन समारोहमा मन्तव्य व्यक्त गर्दै अध्यक्ष सिंहले बदलिँदो परिवेशमा कर्मचारीलाई प्राविधिक रूपमा सक्षम बनाउन आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० लगायत डिजिटल कनेक्टिभिटी सम्बन्धी तालिमलाई प्राथमिकता दिने र कर्मचारीको क्षमता अभिवृद्धिमा कम्पनीले यथाशक्य लगानी गर्ने बताइन् । कर्मचारीको दक्षता र क्षमता अभिवृद्धिले कम्पनीको व्यवसाय प्रवद्र्धनमा समेत सकारात्मक योगदान पुर्याउने उनको भनाइ थियो । सो अवसरमा कार्यसम्पादनका आधारमा ‘बेस्ट इम्प्लोई अवाड –२०८३’ छनौट हुने कर्मचारी शिवेश ठाकुर ९इटहरी०, गीता कुमारी थिङ (बर्दिबास), रुक्मणी कुमारी शर्मा ९काठमाडौं०, अनिल श्रेष्ठ ९विरौटा०, सुवासमणि पोखरेल ९नेपालगञ्ज०, प्रमिला मल्ल ९नेपालगञ्ज० र विष्णुजंग शाही ९जाजरकोट० लाई अध्यक्षज्यूले नगद पुरस्कार सहित सम्मानपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा बेस्ट इम्प्लोई अवार्ड प्राप्त गर्ने कर्मचारीहरुलाई अध्यक्षले बधाई दिँदै अन्य कर्मचारीलाई पनि आगामी दिनमा उत्कृष्ट कार्यसम्पादनका लागि शुभकामना व्यक्त गरिन्।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले सहभागीहरूलाई स्वागत गरेका थिए । स्वागत मन्तव्यको क्रममा, उनले ग्राहक नै व्यवसायको मुख्य स्रोत भएको उल्लेख गर्नुहुँदै ग्राहकलाई सरल, छिटो र सम्मानजनक सेवा प्रदान गर्नुपर्ने, संस्थाका नीति, नियमको पालना तथा कामप्रतिको जवाफदेहितालाई संस्थागत संस्कारका रूपमा विकास गर्नुपर्ने र ‘समस्या जहाँ भए पनि त्यो संस्थाकै समस्या हो’ भन्ने भावनाका साथ समाधान खोज्ने जिम्मेवार प्रयासले कम्पनीप्रति ग्राहकको विश्वास अझ बलियो बनाउने भनाइ राखे।
सो अवसरमा कर्मचारीलाई विभिन्न विषयमा प्रशिक्षण समेत प्रदान गरिएको थियो । नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछानेले बीमालाई माध्यम बनाएर विभिन्न बहानामा सम्पत्ति शुद्धीकरण हुनसक्ने भएकाले यसतर्फ सचेत रहनुपर्ने बताए। यसैगरी अर्का प्रशिक्षक विश्वराज पौडेलले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगसम्बन्धी प्रयोगात्मक प्रशिक्षण प्रदान गरेका थिए भने प्रशिक्षक संजोग कोइरालाले कर्मचारीको व्यवहार तथा आचरणले संस्थाको पहिचान निर्माणमा खेल्ने महत्वपूर्ण भूमिका को बारेमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा कर्मचारीहरूको सिर्जनात्मकता, नेतृत्व क्षमता, सहकार्य र कार्यसम्पादन अभिवृद्धिलाई लक्षित गरी अतिरिक्त क्रियाकलाप पनि समावेश गरिएको थियो । अतिरिक्त क्रियाकलाप अन्तर्गत कम्पनीको सातै प्रदेशबाट सहभागी कर्मचारीले दैनिक कार्यसम्पादनसँग सम्बन्धित विषयमा नाटक (ड्रामा) प्रस्तुत गरेका थिए ।
यसैगरी विभागीय प्रमुखहरूसँग प्यानल डिस्कसन तथा कर्मचारी बीच परीक्षा सञ्चालन गरिएको थियो । त्यस्तै अन्तर कर्मचारी फुटसल, टेबल टेनिस र टग अफ वार लगायतका खेल समावेश गरी खेलकुद प्रतियोगिता पनि संचालन गरिएको थियो । विजयी टीम र खेलाडीलाई कार्यक्रममा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । यसै गरी कार्यक्रमको अन्तिम दिन कर्मचारीहरुलाई रिफ्रेसमेण्टका लागि कर्णाली चिसापानीको भ्रमण पनि गराईएको थियो ।
यस चारदिने कार्यक्रमले कर्मचारीको प्राविधिक ज्ञान, व्यावसायिक दक्षता, नेतृत्व क्षमता, व्यवहार तथा संस्थागत कार्यसंस्कृतिको विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया