बाढीमा भन्सार कर्मचारी गुमाएका परिवारलाई अर्थमन्त्रीले भरोसा दिदै भनेः ‘तपाईंहरू एक्लो हुनुहुन्न’

२०८३ असोज १६ गते

बाढीमा भन्सार कर्मचारी गुमाएका परिवारलाई अर्थमन्त्रीले भरोसा दिदै भनेः ‘तपाईंहरू एक्लो हुनुहुन्न’

काठमाडौं । भोटेकोशी–रसुवा बाढीमा परी ज्यान गुमाएका तथा अझै सम्पर्कविहीन रहेका भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले राज्यको साथ रहेको आश्वासन दिएका छन्।

 

Advertisement:

Ad

बिहीबार अर्थ मन्त्रालयमा पीडित परिवारका सदस्यहरूसँग सामूहिक भेट गर्दै अर्थमन्त्री वाग्लेले विपत्तिको यो कठिन घडीमा परिवारलाई एक्लो महसुस नगर्न आग्रह गरे। उनले अर्थ मन्त्रालय र भन्सार प्रशासन पीडित परिवारको साथमा रहेको बताए।

 

राजस्व संकलनको जिम्मेवारी लिएर रसुवामा कार्यक्षेत्रमा खटिएका दक्ष र काबिल कर्मचारीलाई अकल्पनीय प्राकृतिक विपत्तिमा गुमाउनुपरेकोमा उनले दुःख व्यक्त गरे।

 

‘पूर्वसूचना र सतर्कता अपनाउनै नसकिने गरी आएको विपत्तिले ठूलो धनजनको क्षति गराएको छ। तपाईंहरूलाई जत्तिकै पीडा र दुःख हामीलाई पनि छ,’ अर्थमन्त्री वाग्लेले भने, ‘हाम्रा काबिल भन्सार प्रशासनका परिवारका सदस्यहरू गुमाउनुपर्दा हामी पनि अत्यन्त दुःखी छौँ। तपाईंहरूलाई परेको पीडालाई म शब्दमा व्यक्त गर्न सक्दिनँ, तर तपाईंहरू एक्लो हुनुहुन्न। हामी तपाईंहरूको साथमा छौँ।’

 

उनले पीडित परिवारका सदस्यलाई आफ्ना समस्या तथा आवश्यकताबारे मन्त्रालय र भन्सार विभागमा खुलेर जानकारी गराउन आग्रह गरे। परिवारको आवश्यकता र समस्यालाई कानुनी आधारमा प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

 

भेटका क्रममा पीडित परिवारका सदस्यहरूले तयार पारेको प्राथमिक मागपत्र अर्थमन्त्री वाग्लेलाई बुझाएका थिए। मागपत्रमा उल्लेखित विषयलाई कानुनी तथा प्रशासनिक प्रक्रियाअनुसार क्रमशः कार्यान्वयन गर्दै जाने उनले बताए।

 

बाढीपहिरोमा भन्सार प्रशासनका कर्मचारीसमेत प्रभावित भएपछि उनीहरूका परिवारले राहत, रोजगारी तथा अन्य आवश्यक सहयोगका लागि सरकारसँग माग गर्दै आएका छन्। अर्थमन्त्रीसँगको भेटमा परिवारका सदस्यहरूले आफूहरूले भोगिरहेको समस्या र आगामी दिनमा आवश्यक पर्ने सहयोगबारे समेत जानकारी गराएका थिए।