एनआरएन लगानीको कानुनी गाँठो फुक्यो,विदेशमा रहेका नेपालीको पुँजीलाई आईपीओमा परिचालन गर्ने नयाँ अवसर

२०८३ असोज २१ गते

एनआरएन लगानीको कानुनी गाँठो फुक्यो,विदेशमा रहेका नेपालीको पुँजीलाई आईपीओमा परिचालन गर्ने नयाँ अवसर

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) को पुँजीलाई नेपालको पुँजी बजारसँग जोड्ने दिशामा सरकारले महत्वपूर्ण कानुनी आधार तयार गरेको छ। सरकारले ‘धितोपत्र दर्ता तथा निष्काशन (आठौँ संशोधन) नियमावली, २०८३’ स्वीकृत गर्दै एनआरएनलाई लक्षित गरी सेयर निष्कासन तथा कारोबार गर्न सकिने व्यवस्था गरेको हो।

संशोधित नियमावलीले निश्चित व्यवस्थाअन्तर्गत एनआरएनलाई लक्षित गरेर सेयर निष्कासन गर्ने कम्पनीलाई आफ्नो जारी पुँजीको न्यूनतम १० प्रतिशतदेखि अधिकतम ८५ प्रतिशतसम्म सेयर निष्कासन गर्न सक्ने बाटो खुला गरेको छ। यसले विदेशमा रहेका नेपालीको पुँजीलाई नेपालको प्राथमिक पुँजी बजारमार्फत परिचालन गर्ने नयाँ अवसर सिर्जना गरेको छ।

Advertisement:

Ad

नयाँ व्यवस्थाअनुसार यस्तो सेयर निष्कासन गर्दा प्रिमियम थप गर्न पाइने छैन। अर्थात् कम्पनीले अंकित मूल्यभन्दा बढी मूल्यमा एनआरएन लक्षित सेयर जारी गर्न पाउने छैन।

त्यस्तै, यसरी निष्कासन गरिएको सेयरको दोस्रो बजार कारोबार धितोपत्र बजारले तोकेको प्रणालीअनुसार हुने व्यवस्था गरिएको छ। यस्तो सेयरको कारोबार गर्दा न्यूनतम कारोबार इकाइ १ हजार कित्ता कायम गरिएको छ।

संशोधित नियमावलीमा धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ४१ ‘ख’ मा चारवटा नयाँ उपनियम थपिएका छन्। नयाँ व्यवस्थाले एनआरएनसँग सम्बन्धित लगानीका लागि विदेशी मुद्रामा हुने लगानी तथा सेयर कारोबारलाई थप व्यवस्थित गर्ने कानुनी आधारसमेत तयार गरेको छ।