२०८१ कात्तिक २६ गते
काठमाडौ । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका नेपाली नागरिकलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जान ‘नो अब्जेक्सन सर्टिफिकेट’ अर्थात् एनओसी नचाहिने भएको छ । श्रम स्वीकृति नलिएका नेपाली नागरिकले भने भारत हुँदै साउदी अरेबिया, कतार, कुवेत, यूएई, ओमान, बहराइन, इराक, लिबिया र लेबनान जान दूतावासबाट ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिनुपर्ने हुन्छ। साथै संयुक्त राज्य अमेरिका, क्यानडा, जापान, बेलायत तथा सेन्जेन भिसा भएका नेपाली नागरिकहरूलाई पनि एनओसी नचाहिने भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ। रसिया जाने नेपाली नागरिकले पनि एनओसी लिनुपर्ने छ। तर, रसिया सरकारबाट छात्रवृत्ति पाएका विद्यार्थी र व्यापारिक भिसा भएकाहरूलाई भने एनओसी आवश्यक नपर्ने दूतावासले जनाएको छ। कूटनीतिक तथा प्रशासनिक सेवा पासपोर्ट भएकाहरू, संयुक्त राष्ट्रसंघको लेसेज पासर (यूएनएलपी) बोक्नेहरू र १६ वर्ष मुनिका बालबालिकालाई पनि एनओसी आवश्यक गरिएको छैन, दुतावासले भनेको छ ।
प्रतिक्रिया