सांसद रामहरि खतिवडालाई संसदमा बोल्न दिइएपछि संसदमा हंगामा, १५ मिनेट बैठक स्थगित

२०८१ माघ २९ गते

सांसद रामहरि खतिवडालाई संसदमा बोल्न दिइएपछि संसदमा हंगामा, १५ मिनेट बैठक स्थगित

काठमाडौँ । सांसद रामहरि खतिवडालाई संसदमा बोल्न दिइएको विषयलाई लिएर विपक्षी दलले आपत्ति जनाएका छन् । विपक्षी दलको विरोधका कारण प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा शून्य समय सकिएर सभामुखको चेयरबाट उपसभामुख इन्दिरा रानाले विशेष समयमा बोल्नका लागि रामकृष्ण यादवलाई समय दिइसकेको अवस्थामा खतिवडाले समय मागेर बोलेका थिए ।

Advertisement:

Ad
Ad

खतिवडाले रवि लामिछाने गृहमन्त्री बनेको समयमा प्रहरीलाई दुरुपयोग गरेको आरोप लगाए । ‘१ नम्बरकोलाई पन्छाएर १५ नम्बरको डीआइजी बनाइएको थियो । आईजीलाई समितिमा बोलाएर निर्दोष छ भनेर भन्न कानेखुसी गरिएको थियो । प्रहरीमा हाइजम्प लागू गरियो’ खतिवडाले भने ।

खतिवडाले बोलेलगत्तै रास्वपाका गणेश पराजुलीले नियमापत्ति गर्दै सरकार पक्षको रवैया अति नै भएको बताए । ‘सरकार पक्षबाट बोल्नेले कुन विषयमा बोल्दै हुनुहुन्छ ? शून्य समय सकिएपछि फेरि आकस्मिक समयमा रु’ उनले प्रश्न गरे ।

त्यसपछि माओवादीका हितराज पाण्डेले संसद् मनोमानी ढंगले चलिरहेको भन्दै आपत्ति जनाए । ‘शून्य, आकस्मिक समय सिद्धिएको बेला, कुन नियमावली अनुसार आयो ?’ उनले प्रश्न गरे ।

उपसभामुख रानाले आकस्मिक समयमा नाम छुटेकोले खतिवडालाई समय दिएको बताइन् । त्यसपछि विपक्षी दलका सांसद् झन आक्रामक बने ।विपक्षी सांसदले होहल्ला गरेपछि सभामुखले प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।