नेप्सेमा झिनो अङ्कको वृद्धि, गार्डियन माइक्रो लाइफको शेयरमा आज पनि सकारात्मक सर्किट

२०८१ फागुन ०८ गते

नेप्सेमा झिनो अङ्कको वृद्धि, गार्डियन माइक्रो लाइफको शेयरमा आज पनि सकारात्मक सर्किट

काठमाडौँ। साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक एकल अंकले बढेको छ । आज नेप्से परिसूचक ३.१४ विन्दुले बढेर २७४३.७४ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.११ प्रतिशतले बढेको हो ।

यस दिन नेप्सेका चार उपसमूहका परिसूचक बढेका छन् भने बाँकि नौ उपसमूहको परिसूचक घटेका छन् । यस दिन सर्वाधिक बढ्ने उपसमूहमा ब्यापार उपसमूह रह्यो जसको परिसूचक ३.१४ प्रतिशतले बढेको छ भने यस दिन सर्वाधिक घट्ने उपसमूहमा उत्पादन तथा प्रशोधन उपसमूह रह्यो जसको परिसूचक ०.८१ प्रतिशतले घटेको छ।

Advertisement:

Ad
Ad

नेप्से परिसूचक बढे पनि आज कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दश अर्ब ४३ करोड बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०९ स्टकको ८६ हजार २ सय २३ पटकको कारोबारमा आठ अर्ब ६२ करोड बराबरको किनबेच भएको छ । जसमा ८१ कम्पनीका शेयर बढेका छन् भने १५८ कम्पनीका शेयर घटेका छन् । त्यसै गरी पाँच कम्पनीका शेयर स्थिर रहेका छन् ।

बिहिबार सर्वाधिक बढ्नेमा स्टकमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स रह्यो जसको शेयर दश प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्ने स्टकमा बाराही हाइड्रोपावर रह्यो जसको शेयर दश प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा एनआरआइसी रह्यो जसको ३९ करोड ६० लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा पनि एनआरआइसी नै रह्यो जसको छ लाख ३० हजार ८ सय ९७ कित्ता शेयर किनबेच भएको छ।