२०८३ असोज ३० गते
काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको २४ अर्ब ८३ करोड ६७ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। यसका लागि राष्ट्र बैंकको वित्त व्यवस्थापन विभागले योग्य बैंक तथा वित्तीय संस्थाबाट सिलबन्दी ब्याजदर प्रस्ताव आह्वान गरेको छ।
राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार ३६६ दिनका लागि मुद्दती निक्षेपमा लगानी गर्न लागिएको हो। इच्छुक तथा तोकिएका मापदण्ड पूरा गरेका बैंक तथा वित्तीय संस्थाले २०८३ कात्तिक १० गते राति १२ बजेसम्म विभागको आधिकारिक इमेलमार्फत प्रस्ताव पेस गर्नुपर्नेछ।
राष्ट्र बैंकले कुल लगानीयोग्य रकमलाई बैंक तथा वित्तीय संस्थाको वर्ग अनुसार विभाजन गरेको छ। जसअनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा १९ अर्ब ८६ करोड ९४ लाख रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ३ अर्ब ७२ करोड ५५ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १ अर्ब २४ करोड १८ लाख रुपैयाँ लगानी गरिनेछ। यसरी तीनवटै वर्गमा गरी कुल २४ अर्ब ८३ करोड ६७ लाख रुपैयाँ मुद्दती निक्षेपका रूपमा राख्ने राष्ट्र बैंकको योजना छ।
राष्ट्र बैंकका अनुसार मुद्दती निक्षेपको अवधि ३६६ दिन रहनेछ। लगानी अवधि २०८३ कात्तिक १६ देखि सुरु भई २०८४ कात्तिक १७ सम्म रहनेछ। प्रस्ताव पेस गर्ने संस्थाले तोकिएको ढाँचाअनुसार आफ्नो इमेलको विषय र फाइलको नाममा उल्लेख गर्नुपर्नेछ। प्रस्ताव पीडीएफ फाइलमा संस्थाको आधिकारिक इमेलबाट मात्र पठाउनुपर्नेछ। व्यक्तिगत इमेल ठेगानाबाट पठाइएका प्रस्ताव स्वीकार गरिने छैनन्।
मुद्दती निक्षेपमा रकम राख्न प्रस्ताव पेस गर्ने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्नेछ। साथै, संस्था खुद नाफामा रहेको, निष्क्रिय कर्जा अनुपात ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशतभन्दा बढी नभएको हुनुपर्नेछ।
त्यसैगरी, शीघ्र सुधारात्मक कारबाहीमा परेको वा समस्याग्रस्त घोषणा भएको संस्था भए त्यस्तो अवस्थाबाट फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको हुनुपर्नेछ। राष्ट्र बैंकको यो कदमले योग्य बैंक तथा वित्तीय संस्थालाई संस्थागत निक्षेप आकर्षित गर्ने अवसर प्रदान गर्नेछ। प्रस्तावित लगानीमा सहभागी हुन इच्छुक संस्थाले सूचनामा उल्लिखित सबै सर्त तथा प्रक्रियाको पालना गरी तोकिएको समयभित्र प्रस्ताव पेस गर्नुपर्नेछ।
प्रतिक्रिया