२०८२ भदौ २२ गते
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न आज २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दैछ। यो प्रक्रिया बोलकबोल प्रणालीमार्फत सञ्चालन हुनेछ।
हाल कुल निक्षेप ७२ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। तरलता र ब्याजदरलाई व्यवस्थित गर्न राष्ट्र बैंकले समय–समयमा निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधा प्रयोग गर्दै आएको छ।
बोलकबोल प्रक्रियामा राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। यस क्रममा सहभागी संस्थाहरूले पेश गर्ने ब्याजदरअनुसार निक्षेप बाँडफाँट गरिनेछ। कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिइने र आह्वान गरिएको रकमसम्म क्रमशः वितरण हुने व्यवस्था रहेको छ।
आजको निक्षेप संकलन उपकरण अनलाइन खरिद प्रणालीमार्फत सञ्चालन हुनेछ। यसमा ब्याजदर प्रत्यक्ष बोलकबोलबाट निर्धारण हुनेछ भने संकलित रकमको सावाँ तथा ब्याज २०८२ साल असोज १२ गते भुक्तानी गरिनेछ। बोल गर्न सकिने न्यूनतम रकम १० करोड रुपैयाँ निर्धारण गरिएको छ भने अधिकतम रकम ५ करोडले निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहनेछ।
नेपाल राष्ट्र बैंकको खुला बजार कारोबार कार्यविधि अनुसार वित्तीय बजारमा दीर्घकालीन तरलता समस्या देखिएमा, बजार ब्याजदरलाई स्थिर राख्न अधिकतम ६ महिनासम्मको अवधिका लागि निक्षेप संकलन उपकरण प्रयोग गर्न सकिने व्यवस्था छ। यही प्रावधानअनुसार राष्ट्र बैंकले पटक–पटक निक्षेप संकलन गर्दै आएको हो।
प्रतिक्रिया