२०८१ मंसिर २७ गते
गुल्मी । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकामा पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । धुर्कोट गाउँपालिकाको सहयोगमा हेफर प्रोजेक्ट नेपालको सझेदारीमा घरदैलोमै पुगेर स्वास्थ्य अभिमुखीकरण सेवा दिएको हो ।
शिविरबाट किसानहरूलाई पशुहरूमा लाग्ने रोगहरूको बारेमा जानकारी दिएको र पशु रोगबाट बच्ने उपायबारे परामर्श प्रदान गरिएको हेफर प्रोजेक्ट नेपाल परियोजना संयोजक व्यवस्थापक भरत भण्डारीले जानकारी दिए।
व्यावसायिक पशु फर्महरूमा स्थलगत गएर पशु विज्ञ प्राविधिकद्वारा विज्ञ सेवा दिने उद्देश्यकासाथ पशु स्वास्थ्य शिविर सुरु गरिएको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताए । धेरै किसानमा पुगेर धेरै सेवा दिने, उपचारको विधि, समस्या पहिचान गर्ने, पशुहरूमा कस्ता प्रकारका रोग छन् , र उत्पादन कसरी वृद्धि गर्न सकिन्छ, भनेर स्थलगत यस्तो अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष पोखरेलले बताए ।
धुर्कोट गाउँपालिका भित्र रहेका कृषकको घरघरमै पुगेर पशुमा लागेको रोग थाहा पाउने र त्यसको उपचारको बारेमा कृषकलाई जानकारी गराइने पशु चिकित्सक डा.लेखनाथ अधिकारीले बताए।
धुर्कोट गाउँपालिका वडा नम्बर ५ मा आभिषकार कृषि फर्म सञ्चालन गर्दै आएका रविन्द्र घिमिरेले स्थानीय सरकारले पशु प्राविधिक सहित घरदैलोमै आएर विज्ञ सेवा पाउँदा निकै खुशी भएको बताए । त्यस्तै आर्को धुर्कोट गाउँपालिका ५ का चूडामणि भण्डारीले पनि पशुमा लाग्ने रोग र उपचारको बारेमा थाहा पाउँदा आफूले धेरै ज्ञान सिकेको बताए ।
धुर्कोट गाउँपालिका भित्रका ४८ फर्ममा पशु चिकित्सक पुगेर सेवा दिने छन् । शिविर ३ दिन सम्म चल्ने छ ।
प्रतिक्रिया