२०८३ वैशाख २८ गते
काठमाडौं । विश्व अर्थतन्त्रमा बढ्दो अनिश्चितता, मध्यपूर्वको द्वन्द्व र अन्तर्राष्ट्रिय राजनीतिक तनावले सुनलाई फेरि एकपटक ‘सुरक्षित लगानी’को केन्द्रमा पुर्याएको छ । विश्व बजारमा सुनको मूल्य लगातार उकालो लागिरहँदा त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि देखिएको छ ।
नेपालमा केही समय अघि प्रतितोला सुनको मूल्य ३ लाख रुपैयाँ नाघ्दा सर्वसाधारण मात्र होइन, सुन व्यवसायी समेत अचम्मित बने । मूल्यको तीव्र उकालोले लगानीकर्तालाई आकर्षित गरे पनि बजारको वास्तविक व्यापार भने ओरालो लागेको छ ।
एकातिर सुनमा लगानी गर्नेले पाँच वर्षमै लगभग तीन गुणा प्रतिफल पाएका छन, अर्कोतिर सुन पसलहरू ग्राहकविहीन जस्तै देखिन थालेका छन् । विवाह सिजन जस्तो व्यापारिक ‘पीक टाइम’मा समेत नयाँ गहना किन्नेको संख्या घट्दै गएको व्यवसायीहरूको अनुभव छ ।

पाँच वर्षमै १९५ प्रतिशत प्रतिफल
नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकअनुसार २०७९ साल बैशाखको पहिलो कारोबारमा प्रतितोला सुनको मूल्य १ लाख १ हजार ५ सय रुपैयाँ थियो । २०८३ साल बैशाखसम्म आइपुग्दा त्यो मूल्य बढेर २ लाख ९९ हजार ८ सय रुपैयाँ पुगेको छ ।
यस आधारमा पाँच वर्षको अवधिमा सुनमा लगानी गर्नेले करिब १९५ प्रतिशतसम्म प्रतिफल पाएको देखिन्छ ।
पछिल्ला पाँच वर्षमा सुन–चाँदीको मूल्य
मिति सुनको मूल्य रु चाँदीको मूल्य रु
२०७९ बैंशाख १,०१,५०० १४००
२०८० बैशाख १,१०,००० १४५०
२०८१ बैशाख १,३६,८०० १७००
२०८२ बैशाख १,८४,३०० १९४५
२०८३ बैशाख २,९९,८०० ५०६५
स्रोत : नेपाल सुनचाँदी व्यवसायी महासंघ
विश्वभर शेयर बजार र क्रिप्टो बजारमा देखिएको अस्थिरताले पनि धेरै लगानीकर्तालाई सुनतर्फ मोडेको छ । आर्थिक जोखिम बढेका बेला सुनलाई सुरक्षित सम्पत्तिका रूपमा हेर्ने प्रवृत्ति अझ बलियो बनेको छ ।विश्लेषकहरूका अनुसार विश्व राजनीतिमा जारी तनाव र आर्थिक अस्थिरता कायम रहेसम्म सुनको मूल्य उच्च रहन सक्ने सम्भावना बलियो छ ।
माग १५ प्रतिशतमा झर्यो
सुनचाँदी व्यवसायी संघका संस्थापक अध्यक्ष मणिकरत्न शाक्यका अनुसार मूल्य बढेसँगै बजारमा माग नाटकीय रूपमा घटेको छ ।उनले अहिलेको बजार अवस्थाको विषयमा सुनाउदै भने, ‘अति आवश्यक परेकाहरूले मूल्य बढेको मौका छोपेर सुन बेचिरहेका छन् । विवाहको सिजनमा पनि पुरानै सुन प्रयोग गरेर काम चलाउने प्रवृत्ति बढेको छ । पाँच वर्षअघिको तुलनामा अहिले बजारको माग करिब १५ प्रतिशतमा झरेको छ ।’
शाक्यका अनुसार यदि यही अवस्था जारी रहने हो भने आगामी बैशाखसम्म सुनको मूल्य प्रतितोला थप ५० हजार रुपैयाँसम्म बढ्न सक्ने अनुमान छ ।
पुरानो सुन पगालेर नयाँ डिजाइन
व्यवसायी धर्म सुन्दर बज्राचार्य पनि बजारको सुस्त अवस्थालाई लिएर चिन्तित छन् ।उनका अनुसार अहिले अधिकांश ग्राहक नयाँ सुन खरिद गर्नुभन्दा पुरानै सुन पगालेर नयाँ डिजाइन बनाउन रुचाइरहेका छन् । ‘माग अत्यन्त कम छ । धेरैले पुरानो सुनलाई पुनः बनाएर प्रयोग गरिरहेका छन्न्,’ उनले भने । यसले बजारमा नगद कारोबार घटाएको छ भने नयाँ सुन आयातको आवश्यकता पनि कम हुँदै गएको छ ।
‘अर्डर नै आउँदैन’
व्यवसायी सुवास पोखरेलका अनुसार अहिले सुन पसलमा नयाँ गहनाको अर्डर आउन लगभग बन्दजस्तै भएको छ ।‘पहिले एक्लै सुन मगाइन्थ्यो । अहिले मूल्य धेरै भएकाले व्यवसायीहरू मिलेर मात्रै सुन मगाउनुपर्छ,’ उनले भने, ‘धेरै दिन पसल खाली हुन्छ । कहिलेकाहीँ त पसल नै बन्द गर्नुपर्ने अवस्था आउँछ ।’

उनका अनुसार अहिले अधिकांश पसलहरूले तयार गहना थुपारेर राख्ने जोखिम लिन छाडेका छन् । ग्राहक आएपछि मात्रै डिजाइन बनाएर दिने चलन बढेको छ ।
चम्किलो मूल्य, सुनसान बजार
केही समय अघिसम्म सुन पसलहरू नयाँ डिजाइनका गहनाले भरिभराउ हुन्थे । ग्राहकहरू डिजाइन हेर्न मात्रै भए पनि पसल पुग्ने गर्थे । तर अहिले दृश्य फेरिएको छ । धेरै पसलका शोकेस खालीजस्तै देखिन्छन् । महँगा गहना लामो समय थन्क्याएर राख्दा जोखिम बढ्ने भएकाले व्यवसायीहरूले ‘डिस्प्ले’ कम गरेका छन् । व्यापारिक चहलपहल घट्दा सुन बजारको पुरानो रौनक हराउँदै गएको व्यवसायीहरू बताउँछन् ।
अब व्यवसायको मोडेल नै फेरिन सक्छ ?
सुनको मूल्य लगातार बढिरहने तर माग घट्दै जाने अवस्था कायम रहेमा नेपाली सुन व्यवसायले नयाँ मोड लिनुपर्ने संकेत देखिएको छ । व्यवसायीहरूका अनुसार अब परम्परागत गहना बिक्रीभन्दा ‘रिमेक’, ‘एक्सचेन्ज’, हल्का डिजाइनका गहना वा वैकल्पिक लगानीका मोडेलतर्फ व्यवसाय मोडिन सक्छ । व्यवसायी मणिकरत्न शाक्य अर्को सुरक्षित व्यापारको ठाउँ पाए आफु सुन व्यापारबाट विस्थापित हुने मनसायमा रहेको र अधिकांशको सोचाई पनि त्यस्तै रहेको बताउँछन् ।
सुन अझै पनि नेपाली समाजमा प्रतिष्ठा, संस्कार र सुरक्षित बचतको प्रतीक हो । तर मूल्यको तीव्र उकालोले त्यो चमक सर्वसाधारणको पहुँचभन्दा बाहिर धकेल्दै लगेको छ ।
प्रतिक्रिया