काठमाडौं । नेपालको युवा पुस्ता 'जेन-जी'ले आगामी सेप्टेम्बर ८ मा भ्रष्टाचार, नातावाद र राजनीतिक शक्ति दुरुपयोगविरुद्ध प्रतिवाद गर्न प्रतीकात्मक तर साहसी आन्दोलन गर्ने तयारी गरेको छ।
सडकमा उत्रिँदा उनीहरूले किताब, कापी र कलमलाई आफ्नो मुख्य प्रतीक बनाउनेछन्। प्रदर्शनका प्रमुख केन्द्रहरू संसद भवन अगाडि नयाँ बानेश्वर र मैतीघर मण्डला रहनेछन् भने देशका अन्य सहरहरूमा पनि शान्तिपूर्ण तर प्रभावकारी रुपमा कार्यक्रम गरिने अपेक्षा गरिएको छ।
'जेन-जी'हरूले नेताहरूका परिवारले उपभोग गर्ने ऐश आरामपूर्ण जीवनशैली र सर्वसाधारण नागरिकले भोगिरहेको संघर्षपूर्ण जीवनबीचको तीव्र असमानता अन्त्य गर्न माग गर्नेछन्। उनीहरूको भनाइमा नेपालका युवाहरू शिक्षित र विश्वसँग जोडिएका भए पनि अझै गुणस्तरीय शिक्षा, रोजगारी र समान अवसरबाट वञ्चित छन्।
डिजिटल युगमा हुर्किएको यो पुस्ता टिकटक, रेडिट, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमार्फत सामाजिक न्याय, पारदर्शिता, समावेशिता र वातावरणीय सुरक्षा जस्ता मुद्दामा सक्रिय देखिँदै आएको छ। उनीहरूले सुरु गरेको “नो नेपो किड” अभियानले देशभर नातावादी संस्कृतिलाई गम्भीर प्रश्न गरेको छ।
सेप्टेम्बर ८ को आन्दोलनमा मुख्यतया यी विषयहरूमा जोड दिइने अपेक्षा गरिएको छ:
भ्रष्टाचार र नातावाद अन्त्यको माग
शिक्षा र रोजगारीमा समान अवसरको सुनिश्चितता
वातावरणीय संरक्षण र दिगो विकास
वञ्चित समुदायका अधिकार र न्यायको माग
सामाजिक संजाल रोकको विरोध
परम्परागत आन्दोलनभन्दा फरक ढंगले, यो पुस्ताले प्रदर्शनलाई लाइभ स्ट्रिमिङ, भाइरल सामग्री र डिजिटल क्याम्पेन मार्फत देश–विदेशमा फैलाउने योजना बनाएको छ।
विशेषज्ञहरूको भनाइमा, यो आन्दोलन नेपालका युवाहरूले राजनीतिक नेतृत्व र उनीहरूको विशेषाधिकारप्रति दिएको प्रत्यक्ष चुनौती हो, जसले नयाँ राजनीतिक संस्कृतिको सुरुवात गर्न सक्नेछ।
प्रतिक्रिया