२०८१ साउन १२ गते
काठमाडौँ ।गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री राजिव गुरुङ (दीपक मनाङे) फेरी विवादमा तानिएका छन्। कहिले खेलकुदका पदाधिकारीलाई लात्तले हानेर त कहिले मन्त्रालयकै कर्मचारी कुटेर बारम्बार विवादमा आइरहने मन्त्री मनाङे अहिले फेरी भित्री बस्त्र (गञ्जी) मात्रै लगाएर मन्त्रालय गएपछि पुनः विवादमा तानिएका हुन्।
गुण्डा नाईकेको छवी संग्ल्याउन राजनीतिमा प्रवेश गरेका उनी आफ्नो पुरानै शैलीका कारण बारम्बार विवादमा आइरहन्छन। यसपटक भने उनी कर्मचारी वा कसैलाई कुटेर नभई गञ्जीमात्रै लगाएर मन्त्रालय गएपछि आलोचना भइरहेको छ। मन्त्रालयकै केहि व्यक्तिबाट सार्वजनिक भएको सो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल छ। जहाँ नागरिक अगुवा तथा सर्वसाधारणहरुले मर्यादा विपरित गञ्जीमात्रै लगाएर मन्त्रालयमा गएको भन्दै आलोचना गरेका छन्।
यसैबीच, मन्त्री मनाङेले गञ्जी लगाएकोबारे भएका टिप्पणीप्रति मन्त्री मनाङेले व्यंग्यात्मक शैलीमा भने ‘अब आफू सुत्दा पनि दौरा सुरुवाल लगाएर सुत्छु। अब गन्जी लगाउन नमिल्ने भयो। कट्टु पनि लगाउन नमिल्ने भयो।’
मन्त्री मनाङेका राजनीतिक सल्लाहकार शैलेन्द्रकुमार रावतले भने मन्त्री मनाङे फिल्ड रिपोर्टिङबाट सिधै मन्त्रालय जाँदा कपडा फेर्न नपाएका कारण गञ्जीमा देखिएको दाबी गरेका छन्। उनका अनुसार मन्त्री मनाङे बुधबार पर्वतको डिमुवास्थित बस्तीमा पहिरोको खतराबारे निरीक्षण गरेर फर्किएपछि सिधै मन्त्रालय गएका थिए। मन्त्री मनाङेको बचाउ गर्दै उनले भने,‘फिल्ड निरीक्षणपछि सिधै मन्त्रालय जानुभएको र सो क्रममा सेवाग्राही आइहालेपछि गञ्जीमै भेट्नुभएको हा । उहाँको नियत नभई सेवाग्राहीलाई प्राथमिकता दिदाँ भुलवश कपडा त्यस्तो पर्न गएको हो।’
प्रतिक्रिया