बर्षमान पुनको बजेटमा विष्णु पौडेलले चलाए कैची, बजेटको आकार डेढ खर्ब बढीले घटाए

२०८१ माघ २४ गते

बर्षमान पुनको बजेटमा विष्णु पौडेलले चलाए कैची, बजेटको आकार डेढ खर्ब बढीले घटाए

काठमाडौं । तत्कालिन अर्थमन्त्री वर्षमान पुनले ल्याएको चालु आर्थिक वर्षको बजेटमा अर्थमन्त्री विष्णु पौडेलले कैची चलाएका छन् । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को बजेट आकारको डेढ खर्ब रुपैयाँभन्दा बढीले घटाएको छ । शुरु विनियोजनको तुलनामा ९.०१ प्रतिशतले बजेटको आकार घटाएको हो ।

बिहीबार प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री पौडेलले अर्धवार्षिक मूल्यांकन प्रतिवेदन पेश गर्दै चालु आर्थिक वर्षका लागि विनियोजित बजेटमध्ये १ खर्ब ६७ अर्ब ५६ करोड ९५ लाख रुपैयाँ घटाएको जनाए ।

Advertisement:

Ad
Ad

तत्कालिन अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएका थिए । यो ६ महिनाको बजेट खर्चको अवस्थालाई मूल्यांकन गरेर अर्थमन्त्री पौडेलले यसलाई १६ खर्ब ९२ अर्ब ७३ करोड ३५ लाख रुपैयाँमा झारिदिएका हुन् । जस अनुसार अब चालु खर्च १० खर्ब २९ अर्ब ३० करोड अर्थात् लक्ष्यको ९०.२४ प्रतिशतमात्र हुने अनुमान गरिएको छ । पूँजीगततर्फ अब २ खर्ब ९९ अर्ब ५० करोड अर्थात् लक्ष्यको ८५ प्रतिशतमात्र खर्च हुने अनुमान सरकारले गरेको छ । वित्तीय व्यवस्थार्फत ३ खर्ब ६३ अर्ब ९३ करोड खर्च हुने संशोधित अनुमान छ । यो लक्ष्यको ९९.०९ प्रतिशत हो ।

त्यस्तै राजस्व परिचालन भने १२ खर्ब ८६ अर्ब रुपैयाँमात्र हुने अनुमान सरकारले गरेको छ । सरकारले यसबीच राजस्व र आन्तरिक ऋणबाट १४ खर्ब ७५ अर्ब बराबर स्रोत जुट्ने अनुमान गरेको छ ।

[pdf-embedder url="https://banijyapost.com/wp-content/uploads/2025/02/बजेटको-अर्धवार्षिक-समिक्षा-२०८१.८२.pdf"]