बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार

२०८१ माघ ०३ गते

बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार

मुम्बई। बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार हुँदा उनी गम्भीर घाइते भएका छन् । उनलाई धारिलो हतियारले आक्रमण हुँदा छ ठाउँमा चोट लागेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

अस्पतालले उनलाई लागेको चोटमध्ये दुई वटा गहिरो भएको र एउटा उनको मेरुदण्डनजिकै रहेको जनाएको छ ।

Advertisement:

Ad
Ad

खानको बान्द्रास्थित ’सतगुरु शरण’ भवनको १२ औँ तलामा रहेको निवासमा बिहान करिब २ः४५ बजेतिर एक घुसपैठिया र घरमा काम गर्ने एक महिलाबिच मुठभेड भएपछि छुट्टयाउने क्रममा चोट लागेको बताइएको छ । घटना बिहान करिब २ः४५ बजेतिर भएको थियो ।

बलिउड अभिनेता खानको उपचारमा संलग्न लिलावती अस्पतालको चिकित्सकको टोलीले एक विज्ञप्ति जारी गर्दै उहाँको अवस्था खतरामुक्त रहेको र अहिले उनको स्वास्थ्यमा सुधार भइरहेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “बलिउड अभिनेता सैफ अली खानको शल्यक्रिया सफल भएको छ । उहाँको स्वास्थ्यको प्रगतिको निगरानी उपचारमा संलग्न चिकित्सकहरूले गरिरहेका छन् ।”

उनको परिवारका सबै सदस्य सुरक्षित रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

अभिनेता खानमाथि भएको आक्रमणको अनुसन्धान टोलीमा रहेका मुम्बई प्रहरीको ‘डीसीपी जोन ९’ दिक्षित गेदामले घटनाको अनुसन्धान भइरहेको बताएका छन् ।

उनले भने, “घटनाबारे अनुसन्धान भइरहेको छ । अनुसन्धान भइरहेकोले घटनाबारे अहिले नै विस्तृत विवरण प्राप्त भइसकेको छैन । अनुसन्धानपछि सबै खुल्नेछ ।”

लीलावती अस्पतालका चिफ अपरेटिङ अफिसर (सीओओ) डा. निरज उत्तमानीका अनुसार खानलाई बिहीबार बिहान ३ बजे अस्पताल ल्याइएको थियो ।