बागमतीमा पानीको बहाव बढाउन मेलम्चीको पानी छाडियो

२०८१ फागुन १४ गते

बागमतीमा पानीको बहाव बढाउन मेलम्चीको पानी छाडियो

काठमाडौँ । शिवरात्रिको समयमा बागमती नदीमा पानीको बहाव बढाउन मेलम्चीको पानी नदीमा छाडिएको छ । पशुपतिमा दर्शन गर्न आउने भक्तजनलाई नदीमा स्नान गर्न सहज बनाउने तथा सुन्दरता बढाउने उद्देश्यले पानी छाडिएको हो ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बागमतीमा मेलम्चीको पानी प्रतिसेकेण्ड करिब एक हजार लिटर बगाइएको जानकारी दिए । ‘हामीले अरु समयमा पनि छ सय लिटर प्रतिसेकेण्ड खोलामा पानी बगाउने गरेका थियौँ’ उनले भने, ‘आयोजनाको क्षमता १७ करोड भनिए पनि अहिले हामीले २३ करोड लिटर खानेपानी प्रतिदिन ल्याएका छौँ ।’

Advertisement:

Ad
Ad

लामिछानेले तीन करोड लिटर पानी बागमतीमा मिसाउने जानकारी दिए । ‘त्यसमध्ये २० करोड उपभोक्तालाई वितरण गरेर बाँकी तीन करोड लिटर नदीमा बगाउँछौँ’ उनले भने, ‘शिवरात्रिमा मात्रै नभएर मेलम्चीले अरु पर्व तथा दैनिक रूपमा बागमतीमा पानीको बहाव बढाउन सहयोग गरिरहेको छ ।’

लामिछानेका अनुसार बिहीबार बिहान ८ बजेसम्म शिवरात्रिका लागि पानी बगाइने छ । ‘मनसुनजन्य विपद्बाट मेलम्ची खानेपानी आयोजनालाई जोगाउनका लागि केही महिना आयोजना बन्द गर्नुपरेको थियो, त्यसबेला धाप ड्यामको पानी ल्याएर काठमाडौँका उपभोक्ताको आवश्यकता पूरा गरेका थियौँ’ लामिछानेले भने, ‘आगामी वर्षामा पनि धाप ड्यामको पानी ल्याएर वितरण गर्नेछौँ ।’