२०८१ जेठ ३० गते
काठमाडौँ । नेपाली विद्यार्थीहरुको वैदेशिक अध्ययनको मूख्य गन्तब्यको रुपमा रहेको अष्ट्रेलियाले विद्यार्थी भिषामा थप कडाई गरेको छ । कोभिडपछि अन्तर्राष्ट्रिय विद्यार्थी भिसामा कडा नियम लगाउँदै आएको अस्ट्रेलियाले बुधबारबाट अझ कडाई गरिने जनाएको हो । अस्ट्रेलियाकी विदेशमन्त्री क्लेयर ओनिलले अर्को महिनादेखि पर्यटक भिसामा रहेका तथा यहाँको टीआरमा रहेका कसैले पनि विद्यार्थी भिसा आवेदन दिन नपाउने नियमको घोषणा गरेकी छिन् ।
अस्ट्रेलियामा पर्यटकका रुपमा टुरिस्ट भिसामा आउने विदेशी नागरिक र यहाँको अध्ययन सकेपछि पाइने टेम्पोररी ग्राजुएट भिसा (टीआर) मा रहेका विदेशी नागरिकले पुन विद्यार्थी भिसाको आवेदन दिन नपाउने भएका छन् ।
यसपहिले नेपाल लगायतका देशबाट टुरिस्ट भिसामा अस्ट्रेलिया आउने र यहाँ आएपछि उक्त भिसालाई विद्यार्थी भिसामा परिवर्तन गरेर यतै बस्ने प्रचलन व्याप्त थियो । यसैगरि निश्चित अध्ययन सकेपछि पाइने ग्राजुएट भिसाको अवधि सकेपछि पुनस् विद्यार्थी भिसामा आवेदन दिएर यतै बस्नेको संख्या समेत व्यापक थियो ।
तर मन्त्री ओनिलले आज थप नियमको घोषणा गर्दै यी दुई भिसा क्याटागोरी(सबक्लास ६०० र ४८५) मा रहेकाले अस्ट्रेलियाबाट (अनसोर) विद्यार्थी भिसाको आवेदन दिन नपाउने बताएकी हुन् । उनीहरुले आफ्नै देश फर्किएर विद्यार्थी भिसा आवेदन दिन भने पाउनेछन् ।
यसपहिले पनि अस्ट्रेलियाले यहाँको विदेशी विद्यार्थी संख्या कम गर्नका लागि कोभिड पश्चात धेरै नियम परिवर्तन गरेको थियो ।
प्रतिक्रिया