अमेरिका पठाउने भन्दै पाँच करोड ५० लाख ठगी गर्ने पक्राउ

२०८१ वैशाख २८ गते

अमेरिका पठाउने भन्दै पाँच करोड ५० लाख ठगी गर्ने पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अवैध बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने प्रलोभन देखाई पाँच करोड ५० लाख ठगी गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

शुक्रबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी उक्त गिरोहलाई सार्वजनिक गरेको हो ।

Advertisement:

Ad
Ad

पक्राउ पर्नेमा वर्ष ४७ का सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका २ का टासी शेर्पा, जिल्ला सिन्धुपाल्चोककै वर्ष ४२ का साविक कर्थली गा.वि.स. १ का ङिमबुटी शेर्पा र जिल्ला सिन्धुपाल्चोककै जुगल गाउँपालिका १ की वर्ष १९ वर्षीया निमा शेर्पा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले बताए ।

उहाँका अनुसार सम्पर्कमा आएका १० जनाबाट उक्त गिरोहले पाँच करोड ५० लाख रुपियाँ रकम ठगी गरेको पाइएको छ । यो गिरोहले करिव १५ जना नेपालीहरुलाई अमेरिका पठाउन केन्या लगायतका विभिन्न देशमा अहिले पनि बन्धक बनाई राखिरहेको र निजहरुबाट करिब सात करोड ५० लाख रकम लिएको खुल्न आएको बताए ।

प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले फरक घटनामा स्रोत नखुलेको ९८ लाख रुकमसहित दुई जनालाई पक्राउ गरेको बताए ।

उनले काठमाडौँ महानगरपालिका ५ मालिगाउँ क्षेत्रमा मिलन बिकसमेतका केही व्यक्तिलाई पनि हुण्डी कारोबार गरिरहेको सूचनाका आधारमा पक्राउ गरिएको बताए । उनले पक्राउ पर्नेमा वर्ष २८ का समिर सुनार र वर्ष २९ का मिलन बिक रहेको जानकारी दिए । उनीहरु दुवैजना रुपन्देही सियारी गाउँपालिका ७ का रहेको उनको भनाइ छ ।

उनीहरुको साथबाट ९८ लाख स्रोत नखुलेको रकमसहित बा.१३ च. ४८५८ नम्बरको सवारी साधन बरामद भएको बताए ।