अमेरिकाले दर्जनौ देशमा लगायो नयाँ भन्सारदर, कुन देशलाई कति ?

२०८२ साउन १६ गते

अमेरिकाले दर्जनौ देशमा लगायो नयाँ भन्सारदर, कुन देशलाई कति ?

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार साझेदार देशहरूलाई नयाँ भन्सारको दर निर्धारण गरेका छन्। बिहीबार  ट्रम्पले भन्सारको नयाँ दर निर्धारण गरेका हुन् । व्यापार सम्झौता गर्न समयसीमाको केही घण्टा मात्र बाँकी रहँदा, ह्वाइट हाउसले दर्जनौं देशहरूका लागि नयाँ करहरू सार्वजनिक गरेको हो ।  

अन्र्तराष्ट्रिय सञ्चारमाध्यम बिबिसीका अनुसार क्यानडाको शुल्क २५ प्रतिशतबाट  बाट बढाएर ३५ प्रतिशत पुर्याइएको   छ । यद्यपि विद्यमान व्यापार सन्धिका कारण अधिकांश क्यानडाली सामानहरूमा यो करबाट छुट पाउनेछन् ।   मेक्सिको माथिको उच्च शुल्क भने अर्को ९० दिनका लागि रोकिएको छ। ट्रम्पले क्यानडामाथिको शुल्क ३५ प्रतिशतमा पुर्‍याए, पनि मेक्सिकोमाथि भने हालको दरमै अर्को ९० दिनसम्म शुल्क लाग्ने बताएका छन्, जसले गर्दा ३५ प्रतिशत मा वृद्धि हुने धम्की दिएका ट्रपको धम्की तत्कालको लागि टरेको छ । 

Advertisement:

Ad
Ad

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक अप्रिलमा आफ्नो शुल्क योजना घोषणा गरेका थिए, जसले विश्व अर्थतन्त्रमा हलचल ल्याएको थियो। तर उनले देशहरूलाई नयाँ व्यापार सम्झौता गर्न समय दिनका लागि उक्त योजना स्थगित गरेका थिए, जसमा बेलायत र युरोपेली संघ पनि पर्छन्। यी शुल्कहरूको अर्थ के हो भने, विदेशी सामान अमेरिका भित्र्याउने कम्पनीहरूले अब सरकारले तोकेको कर तिर्नु पर्नेछ ।  ती  कम्पनीहरूले उपभोक्तामाथि लागत थप्न सक्छन् ।

 केही दिनअघि, अमेरिका र युरोपेली संघ बीच  युरोपेली सामानहरूमाथि १५ प्रतिशत शुल्क लगाइने विषयमा सहमति भएको थियो । जसमा कारहरू पनि समावेश छन्। यो सहमति युरोपेली युनियनका सबै २७ सदस्य राष्ट्रहरूले अनुमोदन गर्नुपर्नेछ ।  इयुका व्यापारिक समूह ले अमेरिकी कम्पनीहरूलाई केही विशेष उत्पादनहरूमा शुन्य प्रतिशत शुल्क लगाउनेछ। अमेरिका र चीनबीचको व्यापार वार्ता अझै चलिरहेको छ, यद्यपि दुवैले पहिले केही सामानहरूमा १०० प्रतिशत भन्दा बढी शुल्क बढाएका थिए र पछि अस्थायी रूपमा त्यसमा कमी गरेका थिए।


दुई दक्षिण–पूर्वी एशियाली देशहरू लाओस र म्यानमार ४० प्रतिशत शुल्क दरका साथ सबैभन्दा उच्च शुल्क लागू गर्ने देशहरूमा परेका छन्। काठ, कफी र लुगा निर्यात गर्ने लाओसको अमेरिका सँगको व्यापार घाटा उल्लेखनीय रूपमा ठूलो छ ।  सन् २०२४ मा उसले अमेरिकामा ८०३.३ मिलियन  डलर बराबरका सामान पठाएको भए पनि अमेरिका बाट मात्र ४०.४ मिलियन डलर बराबरको सामान खरिद गरेको थियो। चम्राजन्य वस्तु र इलेक्ट्रोनिक्स निर्यात गर्ने म्यानमारले सन् २०२३ मा अमेरिका सँग ५७९ मिलियन डलर बराबरको व्यापार घाटा व्यहोरेको अमेरिकी व्यापार तथ्यांकले देखाउँछ।


यता कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले शुक्रबार  वासिङ्टनद्वारा लगाइएको १९ प्रतिशत शुल्क दरलाई स्वागत गरेमन छन् । जुन ट्रंपले पहिले धम्की दिइएको ३६ प्रतिशत  शुल्कभन्दा कम हो। पाकिस्तानको १९ प्रतिशत शुल्क दर दक्षिण एसियाली देशहरूमा सबैभन्दा कम हो र यसले छिमेकी प्रतिद्वन्द्वी भारतको २५ प्रतिशत  शुल्क दर भन्दा धेरै कम हो। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पहिले आफ्नो देशको शुल्क दर २९ प्रतिशतबाट घटाइएपछि राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका छन् ।