२०८३ कात्तिक १२ गते
काठमाडौं । इलाम, पाँचथर र ताप्लेजुङ जिल्लालाई जोड्ने मेची करिडोरअन्तर्गत बेलासे-गोलाखर्क भञ्ज्याङ सडक खण्डको ठेक्का सम्झौता अन्त्य गरिएको छ। पटक–पटक म्याद थप गर्दा पनि निर्माणले गति लिन नसकेपछि भौतिक पूर्वाधार मन्त्रालयले ठेक्का तोड्ने निर्णय गरेको हो।
मेची करिडोर (केचना–कञ्चनजङ्घा) सडकअन्तर्गतको ९.५ किलोमिटर उक्त खण्ड निर्माणका लागि २०७८ असार २९ गते २७ करोड २२ लाख रुपैयाँ (भ्याटसहित) मा ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार २०८० पुस २९ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो।
तर, पटक–पटक म्याद थप गरी कुल ६३ महिना समय उपलब्ध गराउँदासमेत सडकको भौतिक प्रगति करिब ४७ प्रतिशतमा सीमित भएको छ। आयोजनाको वित्तीय प्रगति भने ४५.२८ प्रतिशत मात्रै रहेको छ।
निर्धारित समयभन्दा लामो अवधि बितिसक्दा पनि निर्माण सम्पन्न नभएपछि ठेक्का सम्झौता अन्त्य गरिएको भौतिक पूर्वाधारमन्त्रीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
मन्त्रालयले अधुरो सडक निर्माणलाई निरन्तरता दिन आवश्यक स्रोत सुनिश्चित गर्ने र बहुवर्षीय ठेक्का सहमति लिएर नयाँ ठेक्का प्रक्रिया अघि बढाउने जनाएको छ।
मेची करिडोर इलाम, पाँचथर र ताप्लेजुङलाई जोड्ने महत्त्वपूर्ण सडक हो। सडकको निर्माण सम्पन्न नहुँदा यस क्षेत्रको यातायात तथा आवागमनमा प्रत्यक्ष असर पर्ने भएकाले बाँकी कामलाई गति दिन नयाँ ठेक्का प्रक्रिया शीघ्र अघि बढाउनुपर्ने देखिएको छ।
वर्षौँसम्म अलपत्र रहेका आयोजनामा ठेक्का तोडेर नयाँ प्रक्रियामार्फत निर्माण अघि बढाउने सरकारको नीतिअनुरूप यो निर्णय गरिएको मन्त्रीको भनाइ छ।
प्रतिक्रिया