२०८३ कात्तिक १२ गते
विराटनगर । मृत्यु भएको ठानेर अन्त्येष्टि गरिएका मोरङको लेटाङका ३७ वर्षीय पदमबहादुर राय छ महिनापछि जीवितै घर फर्किएपछि प्रहरीले पुरानो दुर्घटनाको अनुसन्धान पुनः सुरु गरेको छ। उनको मृत्यु भएको ठानेर अन्त्येष्टि गरिएको व्यक्ति को थिए भन्ने प्रश्नको जवाफ भने अझै खुलेको छैन।
लेटाङ नगरपालिका–५ खेरूवाका पदमबहादुरको मृत्यु भएको विश्वासमा परिवारले गत जेठ २७ गते अन्त्येष्टि गरेको थियो। परिवारले उनको मृत्युबापत दुर्घटना बीमाको ५ लाख ५० हजार रुपैयाँसमेत प्राप्त गरेको थियो। तर, पदमबहादुर जीवितै फर्किएपछि दुर्घटनामा मृत्यु भएका व्यक्तिको पहिचान र बीमा भुक्तानीको विषय फेरि अनुसन्धानको दायरामा आएको छ।
मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवालका अनुसार पदमबहादुर जीवित रहेको परिवारले पुष्टि गरेपछि प्रहरीले घटनासँग सम्बन्धित पुराना तस्बिर र भिडिओको अध्ययन थालेको छ।
‘उहाँ जीवितै फर्किएको कुरा परिवारले पुष्टि गरेपछि हामी फोटो–भिडिओ हेरेर पुनः अनुसन्धानमा जुटेका छौँ,’ कटुवालले भने, ‘उहाँहरूले बीमाबापतको ५ लाख ५० हजार रुपैयाँ बुझ्नुभएको थियो। त्यो रकम फिर्ता गर्ने भन्नुभएको छ। परिवारले अनुसन्धानमा राम्रोसँग समन्वय गरिरहेको छ।’
प्रहरीका अनुसार अब अनुसन्धान मुख्यतः दुई विषयमा केन्द्रित हुनेछ। पहिलो, दुर्घटनामा मृत्यु भएका व्यक्तिको वास्तविक पहिचान पत्ता लगाउने र दोस्रो, शवलाई पदमबहादुरकै ठहर गर्ने आधार के थियो भन्ने खुलाउने।
मोटरसाइकलको ठक्करबाट घाइते भएका व्यक्तिको मृत्यु
घटना सुनसरीको बराहक्षेत्र नगरपालिका–४ स्थित चतरा–पकली सडकखण्डको हो। प्रहरीका अनुसार २०८३ जेठ २६ गते बिहान करिब साढे ८ बजे मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते भएका थिए।
उपचारका लागि उनलाई बुढीगंगास्थित विराट टिचिङ अस्पताल लगिएको थियो। उपचारकै क्रममा मृत्यु भएपछि शव कोशी अस्पतालको शवगृहमा राखिएको थियो।
मृतकको पहिचान खुल्न नसकेपछि प्रहरीले आफन्तलाई सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको थियो। सोही सूचनाका आधारमा पदमबहादुरकी आमा अस्पताल पुगेकी थिइन्। उनले शव आफ्नै छोराको भएको बताएपछि प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी शव परिवारलाई बुझाएको थियो।
परिवारले जेठ २७ गते शवको अन्त्येष्टि गरेको थियो। त्यसपछि पदमबहादुरको मृत्यु भएको विश्वासमा परिवारले शोकसँगै अन्य आवश्यक प्रक्रिया पनि पूरा गरेको थियो।
तर, छ महिनापछि उनी जीवितै घर फर्किएपछि दुर्घटनामा मृत्यु भएका व्यक्तिको पहिचानबारे गम्भीर प्रश्न उठेको छ। प्रहरीले अहिले त्यतिबेला अस्पतालमा राखिएको शवको पहिचान र सनाखत प्रक्रियाबारे पुनः अनुसन्धान गरिरहेको छ।
लामो समयदेखि घरबाहिर थिए पदमबहादुर
इलाका प्रहरी कार्यालय लेटाङका अनुसार पदमबहादुर २०८२ माघदेखि घरबाहिर थिए। उनी बेलाबेला घर छाडेर हिँड्ने गरेको विवरण प्रहरीले परिवारबाट पाएको छ।
विवाहपछि श्रीमती अलग्गिएसँगै उनी घरमा नियमित नबस्ने गरेको बताइएको छ। लामो समय घरबाहिर रहेका कारण परिवारले पनि उनको अवस्थाबारे जानकारी पाउन सकेको थिएन।
प्रहरीको प्रारम्भिक बुझाइमा यही परिस्थितिका कारण दुर्घटनामा मृत्यु भएका व्यक्तिको शव देख्दा उनकी आमाले आफ्नै छोराको ठानेर सनाखत गरेको हुन सक्छ। यद्यपि, शवको वास्तविक पहिचान र सनाखतमा भएको त्रुटिको कारण अनुसन्धानपछि मात्रै स्पष्ट हुनेछ।
पदमबहादुर जीवितै भेटिएपछि अब प्रहरीले दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको पहिचान खुलाउनुपर्ने भएको छ। साथै, मृत्युका आधारमा भएको बीमा भुक्तानीको विषय पनि थप परीक्षणको प्रक्रियामा जाने देखिएको छ।
प्रतिक्रिया