२०८३ कात्तिक १२ गते
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावको क्षति कम गर्न हवाई सुरक्षा सतर्कता अपनाउन भनेको छ ।
यही कात्तिक १२ गतेदेखि कात्तिक १४ गतेसम्म भारी वर्षा, तीव्र हावाहुरी र भिजिविलिटी कम हुनसक्ने भएकाले हवाई उडान तथा अवतरण, विमानस्थलको सञ्चालन र धावनमार्गको सतहमा समस्या उत्पन्न हुन सक्ने हुँदा सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको हो । भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपास तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको अर्नब नेपालमा प्रवेश गर्न सक्ने भएकाले क्यानले सतर्कता अपनाउन भनेको हो ।
प्राधिकरणले आज सुरक्षा परिपत्र जारी गर्दै हवाई सेवा प्रदायक, विमानस्थल सञ्चालक, वायुसेवा सञ्चालक तथा सम्बन्धित सरोकारवालालाई आवश्यक सतर्कता अपनाउन भनेको छ ।
उक्त मौसमी प्रणालीका कारण नेपालमा मध्यमदेखि भारी वर्षा, चट्याङसहितको हुरीबतास, तीव्र हावाहुरी तथा हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना रहेको परिपत्रमा भनिएको छ । यसको प्रभाव विशेषगरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पर्न सक्ने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा समेत असर देखिनसक्ने जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले पनि जनाएको छ ।
प्रतिक्रिया