थुप्रियो विदेशी मुद्रा सञ्चिति, १७.८ महिनाको बस्तु तथा आयात धान्ने अवस्थामा देशको ढुकुटी

२०८३ असोज २९ गते

थुप्रियो विदेशी मुद्रा सञ्चिति, १७.८ महिनाको बस्तु तथा आयात धान्ने अवस्थामा देशको ढुकुटी

काठमाडौँ । २०८३ असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४.३ प्रतिशतले वृद्धि भई भदौ मसान्तमा ४० खर्ब ६५ अर्ब ७८ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ अनुसार यस्तो देखाएको हो ।

 

Advertisement:

Ad

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८३ असार मसान्तमा २५ अर्ब ३१ करोड रहेकोमा भदौ मसान्तमा ४.६ प्रतिशतले वृद्धि भई २६ अर्ब ४८ करोड पुगेको छ ।

 

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८३ असार मसान्तमा ३४७३ अर्ब १९ करोड रहेकोमा २०८३ भदौ मसान्तमा ४.० प्रतिशतले वृद्धि भई ३६१० अर्ब ७६ करोड पुगेको छ ।

 

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८३ असार मसान्तमा ४२४ अर्ब ४८ करोड रहेकोमा २०८३ भदौ मसान्तमा ७.२ प्रतिशतले वद्धि भई ४५५ अर्ब १ करोड कायम भएको छ । २०८३ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.३ प्रतिशत रहेको छ ।

 

आर्थिक वर्ष २०८३/८४ को दुई महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २०.९ महिनाको वस्तु आयात र १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

 

२०८३ भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ६१.६ प्रतिशत, १४८.५ प्रतिशत र ४४.९ प्रतिशत रहेका छन् । २०८३ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ५९.१ प्रतिशत, १६३.४ प्रतिशत र ४३.८ प्रतिशत रहेका थिए ।