पोखरामा मोटरसाइकल दुर्घटना, चालक र पैदलयात्रु दुवैको गयो ज्यान

२०८३ असोज २९ गते

पोखरामा मोटरसाइकल दुर्घटना, चालक र पैदलयात्रु दुवैको गयो ज्यान

पोखरा । पोखरामा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा मोटरसाइकल चालकसहित दुई जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१७ स्थित बालोदय चोकमा सिद्धार्थ राजमार्गअन्तर्गत आज बिहीबार बिहान भएको दुर्घटनामा मोटरसाइकल चालक १९ वर्षीय सफलकुमार श्रेष्ठ र पैदलयात्री ४५ वर्षीय कृष्ण कुमालको ज्यान गएको कास्की प्रहरीले जनाएको छ ।

 

Advertisement:

Ad

बिहीबार बिहान करिब ७ बजे विरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको ग १४ प ४८७९ नम्बरको मोटरसाइकलले सडक पार गर्दै गरेका कुमाललाई ठक्कर दिएको थियो । पैदलयात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित बनेको मोटरसाइकल सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएको थियो ।

 

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई सुरुमा विरौटास्थित नोबेल अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पु¥याइएकोमा चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए ।

 

मृतक श्रेष्ठ पोखरा महानगरपालिका–१७ का स्थानीय बासिन्दा हुन् भने कुमालको स्थायी घर लमजुङ रहेको र उनी हाल पोखरा–१७ विरौटामा बस्दै आएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे कास्की प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।