२०८३ वैशाख ०९ गते
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको ३०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष राजेन्द्र मल्लले बीमा क्षेत्रमा देखिएको चुनौतीपूर्ण अवस्थाबीच पनि कम्पनीले सन्तुलित र दिगो रणनीतिका साथ उल्लेखनीय प्रगति हासिल गरेको बताएका छन्।
अध्यक्ष मल्लका अनुसार कम्पनीले अल्पकालीन तथा दीर्घकालीन नीतिहरू तय गर्दै संस्थालाई छरितो र प्रविधिमैत्री बनाउने दिशामा काम गरिरहेको छ। आधुनिक बीमा सेवामा सूचना प्रविधिको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उनले ग्राहकलाई छिटो, सहज र विश्वसनीय सेवा उपलब्ध गराउने लक्ष्यका साथ प्रविधिमा लगानी बढाइएको जानकारी दिए।
कम्पनीले संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली सुदृढीकरण तथा जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाइएको छ। “प्रभुमा बीमा गरौं, निर्धक्क रहौं” भन्ने नारालाई सार्थक बनाउन व्यवसाय विस्तार, मानव संसाधन विकास, कर्मचारी तालिम तथा ब्राण्ड प्रवर्द्धनमा विशेष जोड दिइएको अध्यक्षले बताए।
आर्थिक वर्ष २०८१/०८२ को मुनाफाबाट कम्पनीले हाल कायम चुक्ता पूँजीको ९.१५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ, जसमा ८.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४५७९ प्रतिशत नगद लाभांश समावेश छ। कुल लाभांश रकम १५ करोड ५७ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीले जनाएको छ।
त्यस्तै, कम्पनीले अन्तर्राष्ट्रिय स्तरमा समेत सफलता हासिल गरेको छ। इन्डियन चेम्बर अफ कमर्सद्वारा थाइल्याण्डको बैंककमा आयोजित “इमर्जिङ एसिया अवार्ड” अन्तर्गत 'Best General Insurance Company of the Year, Nepal'र Company with the Best Risk Management Strategy of the Year'गरी दुई विधामा सम्मानित भएको जानकारी सभामा गराइएको थियो।
सभामा आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन, वित्तीय विवरण तथा भावी योजनाहरू प्रस्तुत गरिएको थियो। प्रतिवेदन नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डका निर्देशिका तथा नेपाल वित्तीय प्रतिवेदन मान (NFRS) अनुसार तयार गरिएको कम्पनीले जनाएको छ।
अन्त्यमा अध्यक्ष ले शेयरधनी, नियामक निकाय, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएका छन्।#prabhuinsurence#
प्रतिक्रिया