२०८३ मंसिर ०२ गते
काठमाडौं । प्रभु बैंकले चिफ बिजनेस अफिसर रश्मी पन्तसहित दुई कर्मचारीलाई सेवाबाट बर्खास्त गरेको छ। बैंकका सीईओ सुमन शर्माले पन्त र सुगेन शाक्यलाई बर्खास्त गर्ने निर्णय गरेका हुन्। अन्य दुई कर्मचारीमाथि पनि बढुवा रोक्का र पद घटुवाको कारबाही गरिएको छ।
पन्त तत्कालीन सीईओ अशोक शेरचनको कार्यकालमा बैंकभित्र प्रभावशाली कर्मचारीका रूपमा चिनिन्थिन्। बैंकिङ क्षेत्रमा उनलाई ‘डन लेडी बैंकर’को उपनामसमेत दिइएको थियो। शेरचनसहित बैंकका केही अधिकारी पक्राउ परेपछि पन्त पनि अनुसन्धानमा तानिएकी थिइन्। उनी पछि धरौटीमा रिहा भए पनि बैंकमा नियमित उपस्थित भएकी थिइनन्।
बैंकले पन्तलाई कर्जा प्रवाहमा आवश्यक कानुनी प्रक्रिया र सुरक्षण नअपनाई एमएस एसियन भिलेज रिसोर्ट प्रालिलाई ऋण दिएको आरोपमा बर्खास्त गरेको हो। उनको बर्खास्ती कात्तिक २० गतेदेखि लागू हुने गरी निर्णय गरिएको बैंकको सूचनामा उल्लेख छ।
रेमिट्यान्स कारोबारसँग सम्बन्धित स्ट्यान्डबाई लेटर अफ क्रेडिट तथा वित्तीय जमानत स्वीकार गर्दा बैंकिङ नियम उल्लंघन गरेको आरोपमा सुगेन शाक्य पनि बर्खास्त भएका छन्। उक्त कार्यले बैंकलाई वित्तीय जोखिम र कानुनी दायित्वमा पार्न सक्ने बैंकको ठहर छ।
यस्तै, सुदिप श्रेष्ठलाई अनधिकृत रूपमा कर्मचारीहरूको ठूलो समूहलाई इमेल पठाएको भन्दै एक तह घटुवा गरिएको छ। सामूहिक सौदाबाजी सम्झौताको नतिजाप्रति असन्तुष्टि जनाउँदै उनले इमेल प्रवाह गरेको बैंकको आरोप छ।
अर्का कर्मचारी मधुसूदन न्यौपानेको कार्यगत कमजोरी र स्थापित कार्यविधि पालना नगरेको भन्दै दुई वर्षका लागि बढुवा रोकिएको छ।
प्रतिक्रिया