आइएमईलाई पुनः उत्कृष्ट करदाता कम्पनीको सम्मान

२०८३ मंसिर ०१ गते

आइएमईलाई पुनः उत्कृष्ट करदाता कम्पनीको सम्मान

काठमाडौं । रेमिट्यान्स तथा मनी ट्रान्सफर कारोबार गर्ने कम्पनीहरूमध्ये आइएमई लिमिटेड उत्कृष्ट करदाता कम्पनीका रूपमा सम्मानित भएको छ। राष्ट्रिय कर दिवस २०८३ को अवसरमा मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइएमईका अध्यक्ष हेमराज ढकाललाई सम्मान प्रदान गरेका हुन्।

 

Advertisement:

Ad

सम्मान ग्रहण गर्दै अध्यक्ष ढकालले उल्लेख्य कर योगदानमार्फत राष्ट्रिय विकासमा सहभागी हुन पाउनु आइएमईका लागि गौरवको विषय भएको बताए। उनले राज्यको आर्थिक विकासमा निजी क्षेत्रको योगदानलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गरे।

 

ढकालले आइएमईले रेमिट्यान्स सेवालाई मात्र सीमित नराखी त्यससँग जोडिएको उद्यमशीलताको इकोसिस्टम विकास र विस्तारमा समेत काम गरिरहेको बताए। रेमिट्यान्ससँगै सिर्जना तथा विकास गरेको उद्यमशीलताको आधारलाई थप सुदृढ गर्दै उन्नत प्रविधि, गुणस्तरीय सेवा र व्यावसायिक गतिशीलतालाई प्राथमिकता दिने उनको भनाइ छ।

 

विभिन्न देशमा सयभन्दा बढी व्यावसायिक साझेदारको सञ्जाल रहेको आइएमईले रेमिट्यान्स सेवालाई थप सरल, सहज र सुरक्षित बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा आफ्नो ब्रान्ड पहिचान विस्तार गर्ने प्रतिबद्धता पनि जनाएको छ।

 

सन् २००१ मा स्थापना भएको आइएमईले नेपालको वैदेशिक मुद्रा आप्रवाहलाई संस्थागत र व्यवस्थित बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ। रेमिट्यान्स क्षेत्रको विकास र औपचारिक वित्तीय प्रणालीको विस्तारमा योगदान पुर्‍याउँदै आएको कम्पनी यसअघि पनि पटक–पटक उत्कृष्ट करदाता कम्पनीका रूपमा सम्मानित भइसकेको छ।