आइजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिटमा बुधबार सुनुवाइ हुँदै

२०८३ मंसिर ०१ गते

आइजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिटमा बुधबार सुनुवाइ हुँदै

काठमाडौं । प्रहरी महानिरीक्षक(आइजिपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले बुधबार सुनुवाइ गर्ने भएको छ।

 

Advertisement:

Ad

आफूलाई आइजिपी पदमा पुनर्बहाली गर्न माग गर्दै कार्कीले कात्तिक २० गते सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटमा सोमबारका लागि पेसी तोकिए पनि छठ पर्वको सार्वजनिक बिदाका कारण सुनुवाइ हुन सकेको थिएन। तिहार र छठको बिदापछि सरकारी कार्यालय सञ्चालनमा आएसँगै सर्वोच्चले बुधबारका लागि पेसी निर्धारण गरेको हो।

 

कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो। सरकारले उनको स्थानमा मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो।

 

तर, कार्कीले प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी अस्वीकार गर्दै सरकारको निर्णयलाई चुनौती दिएर सर्वोच्च अदालत पुगेका हुन्।

 

सरकारको निर्णय संविधान, प्रचलित कानुन र सर्वोच्च अदालतबाट प्रतिपादित नजिरविपरीत रहेको कार्कीको दाबी छ। आफूलाई पदबाट हटाउनुअघि कुनै कानुनी आधार र निर्धारित कार्यविधि पालना नगरिएको, स्पष्टीकरण सोध्ने तथा आफ्नो कुरा राख्ने अवसरसमेत नदिइएको रिट निवेदनमा उल्लेख छ।

 

कार्कीले सरकारको निर्णय बदर गरी आफूलाई प्रहरी महानिरीक्षककै पदमा पुनर्बहाली गर्न माग गरेका छन्। अब सर्वोच्चको सुनुवाइले सरकारको निर्णयको वैधानिकतासँगै प्रहरी नेतृत्व परिवर्तनको विवादलाई समेत न्यायिक निरूपणको दिशामा अघि बढाउने अपेक्षा गरिएको छ।