२०८२ साउन १६ गते
काठमाडौं । पूर्वनवयुवराज हृदयन्द्र शाहले जुम्ला भ्रमणका क्रममा बनाएको भ्लग अहिले चर्चामा छ, धेरैले यसको प्रशंसा गरिरहे पनि माओवादी सांसद छिरिङ ल्हामु लामाले भने तीव्र आलोचना गरेकी छन्। उनले फेसबुकमा लामो स्टाटस लेख्दै उक्त भ्लग र त्यसका सन्दर्भमा देखिएको प्रतिक्रियामाथि आक्रोश व्यक्त गरेकी हुन्।
लामाले राजतन्त्रकालीन शोषण र अत्याचारको चर्चा गर्दै हृदयन्द्रको भिडियो केवल 'स्टन्ट' भएको बताइन्। उनका अनुसार, राजतन्त्रका पुस्ताहरूले नेपाली जनतामाथि गरेको अन्याय केवल एउटा भिडियो बनाएर माफ हुन सक्दैन। उनले लेखिन्, “हृदयन्द्रले मात्रै होइन, उनको सयौं पुस्ताले देश र जनताको सेवा गरे पनि अतीतको अत्याचार मेटिँदैन।”
हृदयन्द्रमाथि कडा शब्द प्रयोग गर्दै लामा थप लेख्छिन्, “विदेशमा दरबारको धनले ऐश आराममा हुर्काइएको व्यक्तिलाई प्रचार गरेर जुम्ला चिनाउनु दुर्भाग्यपूर्ण हो।” उनले हृदयन्द्रको भ्लगलाई मिडियाले विशेष महत्व दिएकोप्रति पनि आपत्ति जनाएकी छन्।
मिडियाले उनलाई हेडलाइन बनाउनु अन्यायपूर्ण भएको बताउँदै उनले लेखिन्, “मिडियाको ध्यान पाउनका लागि पनि सामन्ती परिवारमै जन्मिनुपर्ने हो र?” साथै, उनले नाम नलिए पनि राप्रपा सांसद ज्ञानेन्द्र शाहीतर्फ संकेत गर्दै संसदसम्म पुग्न राजपरिवारको धन प्रयोग भएको दाबी गरिन्।
यो अभिव्यक्तिलाई धेरैले विवादास्पद भनेका छन्, किनभने हृदयन्द्रको भ्लगलाई धेरैले सधैंभन्दा फरक ढंगमा जुम्लालाई चिनाएको उदाहरणको रूपमा लिएका छन्।
प्रतिक्रिया