जेनजी आन्दोलनमा ध्वस्त हिल्टनले ८ अर्बको क्षतिपूर्ति माग गर्दा ३ अर्ब मात्रै पाउने

२०८२ चैत ११ गते

जेनजी आन्दोलनमा ध्वस्त हिल्टनले ८ अर्बको क्षतिपूर्ति माग गर्दा ३ अर्ब मात्रै पाउने

काठमाडौं । गत भदौमा भएको जेनजी प्रदर्शनका क्रममा आगजनीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको हिल्टन होटल काठमाडौँले बीमा दाबीबापत करिब ३ अर्ब रुपैयाँ मात्रै प्राप्त गर्ने भएको छ।

 

Advertisement:

Ad
Ad

होटलले ८ अर्ब रुपैयाँको क्षतिपूर्ति दाबी गरे पनि, बीमा कभर रकम ५ अर्ब रुपैयाँसम्म मात्रै रहेको पुष्टि भएको छ। सोही आधारमा बीमाअन्तर्गत करिब ३ अर्ब रुपैयाँ भुक्तानी हुने देखिएको हो।उक्त होटलको बीमा द ओरियन्टल इन्स्योरेन्स कम्पनीमा गरिएको थियो। तर, आगलागी भएको सात महिना बितिसक्दा पनि दाबी भुक्तानी हुन सकेको छैन। भुक्तानीमा ढिलाइ हुनुको प्रमुख कारण दाबीसम्बन्धी विवाद रहेको जनाइएको छ।

 

अनुसन्धानका क्रममा बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्स कम्पनीले ‘हुलदंगा तथा आतंकवाद जोखिम’ सम्बन्धी पुनर्बीमा प्रावधान विपरीत काम गरेको पाइएको छ। यस विषयमा नेपाल बीमा प्राधिकरणले हालै कारबाहीसमेत अघि बढाएको छ।घटनामा संलग्न रहेको पाइएपछि एलियन्ट ब्रोकर कम्पनीको इजाजतपत्र तीन महिनाका लागि निलम्बन गरिएको छ। बीमा ऐनअनुसार यस्तो जोखिमको पुनर्बीमा सरकारी स्वामित्वको कम्पनीमा गर्नुपर्ने व्यवस्था भए पनि, सम्बन्धित पक्षहरूले नियम उल्लङ्घन गर्दै अन्यत्र पुनर्बीमा गराउन खोजेका थिए।

 

यसै कारण नियामक निकायले सम्बन्धित बीमा कम्पनी र ब्रोकरमाथि कारबाही गरेको जनाएको छ।