२०८३ कात्तिक ०४ गते
काठमाडौं । फ्रान्समा बढ्दो महंगीविरुद्ध शुरु भएको प्रदर्शन हिंसात्मक बनेपछि प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले स्थानीय स्तरमा कर्फ्यु लगाउन आह्वान गरेका छन्। यो साताभरी देशभर भएका प्रदर्शनका क्रममा पसलहरूमा तोडफोड र लुटपाट हुनुका साथै सार्वजनिक भवन तथा सवारीसाधनमा आगजनी भएको थियो। प्रहरीले प्रदर्शन र सम्भावित हिंसात्मक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले आवतजावत तथा भेला हुन प्रतिबन्ध लगाएको हो ।
पेरिस प्रहरी मुख्यालयका अनुसार स्थानीय समयअनुसार अक्टोबर १९ राति ११ बजेदेखि अक्टोबर २० बिहान ६ बजेसम्म तोकिएका क्षेत्रमा मानिसको आवतजावत निषेध गरिएको छ ।
यो प्रतिबन्ध फ्रान्सेली राजधानीका केही क्षेत्रमा लागू हुनेछ । यसमा मध्य पेरिसस्थित प्लास द ला रिपुब्लिकको केन्द्रीय भागसमेत समावेश छ, जहाँ सप्ताहान्तमा प्रदर्शनकारीहरू भेला भएका थिए ।
त्यसैगरी, अक्टोबर १९ राति ८ बजेदेखि अक्टोबर २० बिहान ६ बजेसम्म ती क्षेत्रमा भेला हुनसमेत प्रतिबन्ध लगाइएको प्रहरीले जनाएको छ ।
प्रहरीको आदेशअनुसार प्रतिबन्धित अवधिमा हतियार, पटाका तथा पेट्रोल, तेल र ग्यासजस्ता जोखिमपूर्ण प्रज्वलनशील पदार्थ बोकेर हिँड्न पाइने छैन ।
फ्रान्सका विभिन्न क्षेत्रमा भएका दंगापछि राजधानी पेरिसमा सुरक्षा व्यवस्था कडा पारिएको हो ।
प्रतिक्रिया