२०८३ जेठ ०५ गते
काठमाडौँ । सरकारले धितोपत्र बोर्ड अध्यक्षमा परेको आवेदनबाट चार जनाको नाम सर्टलिस्ट गरेको छ । रिक्त बोर्ड नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिले ४ जनाको संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरेको हो । अध्यक्ष छनोट सिफारिस समितिले धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न प्रक्रिया अघि बढाएको हो ।
सर्टलिस्टमा डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपाल प्रसाद भट्ट रहेका छन् । समितिले वैशाख १५ गते इच्छुक व्यक्तिहरूसँग व्यक्तिगत विवरण माग गरेको थियो । तोकिएको समयभित्र ४७ जनाले आवेदन दिएकोमा मूल्यांकनपछि चार जनाको नाम सर्टलिस्ट गरिएको समितिले जनाएको छ ।
समितिका अनुसार सर्टलिस्टमा परेकासँग आगामी जेठ ८ गते शुक्रबार अर्थ मन्त्रालयमा छलफल गरिनेछ । कार्यतालिका अनुसार डा. नवराज अधिकारीसँग दिउँसो १ बजे, विनयदेव आचार्यसँग १ः३० बजे, मुकुन्द कुमार क्षेत्रीसँग २ बजे तथा डा. गोपाल प्रसाद भट्टसँग २ः३० बजे छलफल हुने जनाएको छ ।
प्रतिक्रिया