यो वर्ष सरदर भन्दा ५५ प्रतिशत सम्म बढी वर्षा हुने

२०८१ जेठ २३ गते

यो वर्ष सरदर भन्दा ५५ प्रतिशत सम्म बढी वर्षा हुने

काठमाडौँ । राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्ष सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत सम्म रहेको भन्दै विपद प्रतिकार्यका लागि विभिन्न योजना बनाएको जनाएको छ ।

सिंहदरबारमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले सरकारले मनसुनजन्य विपद्को प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको, खोज उद्धार र राहतका लागि विभिन्न सङ्घसंस्था तथा निजी क्षेत्रसँग समन्वय गरिरहेको, भूकम्पले फाटेका धाँजा पुर्न निर्देशन दिइएको, ढुवानीका साधनहरू तयारी अवस्थामा राखिएको जानकारी दिए ।

Advertisement:

Ad
Ad

कार्यकारी प्रमुख पोखरेलले विगतका अनुभवलाई लिएर यो वर्ष विपद जोखिम न्युनिकरण गर्न विभिन्न योजना बनाई कार्यान्वयनमा लगिसकेको जानकारी दिए ।

प्राधिकरणका प्रवक्ता डा.डिजन भट्टराईले कार्ययोजना प्रस्तुत गर्दै मनसुनजन्य विपदबाट यो वर्ष करिब १८ लाख १ हजार जना र ४ लाख १२ हजार घरधुरी प्रभावित हुने अनुमान गरिएको बताए ।

प्रवक्ता भट्टराईका अनुसार मनसुनजन्य विपदमा १८ हजार घर परिवारलाई उद्धार तथा राहत उपलब्ध गराउनुपर्नेछ ।

यसैगरी मनसुनजन्य विपदबाट जोगिन तीन दिन अगाडि नै मौसमको पूर्वानुमान गरी बुलेटिन जारी गर्ने, आपतकालिन प्रयोगका लागि ११४९ नम्बर प्रयोगमा ल्याइएको, बाढीको पूर्व जानकारीका लागि प्रभावित क्षेत्रमा ११५५ बाट एसएमएस पठाउने प्रणाली विकास गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए ।

विगत १० वर्षको तथ्याङ्कलाई हेर्दा मनसुनजन्य घटनाबाट ४ सय नागरिकले ज्यान गुमाएको, बाढी, पहिरोसँगै चट्याङको जोखिम पनि बढेको राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।