विद्युत् प्राधिकरणमा माथिल्लो तहका कर्मचारीहरुको सरुवा (यस्तो छ पत्र)

२०८१ चैत १८ गते

विद्युत् प्राधिकरणमा माथिल्लो तहका कर्मचारीहरुको सरुवा (यस्तो छ पत्र)

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेसँगै उर्जामन्त्रीको दबावमा व्यापक रुपमा माथिल्लो तहका कर्मचारीहरुको सरुवा गरिएको छ । प्राधिकरणका १२ र ११ तहका उपकार्यकारी निर्देशक र निर्देशकहरुको सरुवा गरिएको हो ।प्राधिकरणका कर्मचारीको सरुवामा आफ्नो स्वार्थ र चासो राख्दै आएका उर्जामन्त्रीले यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङलाई विशेष दबाव दिँदै आएपनि घिसिङले अटेर गर्दै आएका थिए ।सोही कारण पनि उर्जामन्त्री र घिसिङबीच दरार उत्पन्न भइरहेको थियो ।

को कहाँ पुगे ?

Advertisement:

Ad
Ad

१२ औं तहका प्रसारण निर्देशनालयका दीर्घायूकुमार श्रेष्ठलाई वितरण तथा ग्राहक सेवामा सरुवा गरिएको छ । गत पुस अन्तिम साता वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल सेवा निवृत्त भएपछि उक्त पद रिक्त थियो । त्यसैगरी प्रसारण निर्देशनालय अन्तर्गतको साविकको भार प्रेषण केन्द्र (हाल प्रणाली व्यवस्थापन विभाग) का निर्देशक चन्दन घोषलाई प्रणाली योजनामा र प्रणाली योजनाकी निर्देशक रञ्जु पाण्डेलाई घोषको ठाउँमा सरुवा गरिएको छ ।

यसैगरी बागमती प्रादेशिक कार्यालयका निर्देशक (प्राविधिक) नवराज ओझालाई व्यसाय विकास निर्देशनालय अन्तर्गत ऊर्जा दक्षमता तथा चुहावट नियन्त्रण विभागमा सरुवा गरिएको छ । ओझा वितरण तथा ग्राहक सेवाका निमित्त उपकार्यकारी निर्देशकसमेत थिए ।ओझा रहेको ठाउँमा अर्का निर्देशक टेकनाथ तिवारीलाई लगिएको छ । तिवारी यसअघि ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभागमा थिए ।

गत चैत ११ गते सरकारले हितेन्द्रदेव शाक्य कार्यकारी निर्देशकमा नियुक्त गरेपछि उनले सर्वप्रथम प्राधिकरणका प्रवक्ता फेरेका थिए । प्राधिकरणको साविकका प्रवक्ता घोषलाई हटाएर कार्यकारी निर्देशकको सचिवालयका निर्देशक राजाभाई शिल्पकारलाई जिम्मेवारी दिइएको छ ।

त्यसैगरी कार्यकारी निर्देशकको सचिवालयकी अधिकृत यशोधा तामाङलाई पनि सरुवा गरिएको छ । यसअघि ऊर्जा मन्त्री दीपक खड्काले १० तहदेखि माथिका कर्मचारीको सरुवा प्राधिकरण सञ्चालक समितिबाट गराउने गरी विनियमावली संशोधन गराएका छन् । यो व्यवस्थासँगै व्यवस्थापनका उच्च तहका कर्मचारी कार्यकारी निर्देशकप्रति जिम्मेवार नभई ऊर्जा मन्त्री र सञ्चालक समितिका सदस्यप्रति बफादार हुने परिपाटी सुरु गरिएको छ ।