तिहारका लागि चाँदीको सिक्का आइतबारबाट बिक्री खुला, सुनको असर्फी भने एकदिनमात्रै बेच्दै राष्ट्र बैंक

२०८१ कात्तिक ०८ गते

तिहारका लागि चाँदीको सिक्का आइतबारबाट बिक्री खुला, सुनको असर्फी भने एकदिनमात्रै बेच्दै राष्ट्र बैंक

काठमाडौ । नेपाल राष्ट्र बैंकले आगामी आइतबारदेखि चाँदीका सिक्का बिक्री गर्ने भएको छ । हरेक वर्ष तिहारलाई लक्षित गर्दै बैंकले सुनको असर्फी तथा चाँदीको सिक्का बिक्रि गर्दै आएको छ । तिहार लक्षित चाँदीको असर्फी कात्तिक ११ गतेदेखि कात्तिक १४ गतेसम्म विक्रि गर्ने केन्द्रिय बैंकले जनाएको छ । सुनको असर्फी भने यसपटक कात्तिक १३ गते १ दिन मात्रै बिक्री गरिने राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंक टक्सार महाशाखाले बिहीबार सूचना प्रकाशित गर्दै यसपटक सुनको असर्फी अभाव रहेकाले १३ गते मंगलबार एकदिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म मात्रै बिक्री खुला गर्न लागेको जनाएको छ । प्रतिव्यक्ति २.५ ग्रामको एक थानका दरले पहिला आउनेलाई पहिलो प्राथमिकता दिने केन्द्रिय बैंकले भनेको छ ।

चाँदीको मेडालियन गाई अंकित २५ ग्राम, गाई अंकित १० ग्राम, लक्ष्मी अंकित १० ग्राम, गणेश अंकित १० ग्राम र गजलक्ष्मी अंकित १० ग्राम मध्येबाट बिक्री हुने राष्ट्र बैंकले जनाएको छ । चाँदीको सिक्का एक व्यक्तिले ५ थानसम्म किन्न पाउनेछन् । असर्फी, चाँदीका स्मारिका र मेडालियन खरिदका लागि अनिवार्य सक्कल नागरिकता वा परिचय खुल्ने प्रमाण र त्यसको प्रतिलिपि सहित उपस्थित हुनुपर्ने छ । असर्फी तथा मेडालियन खरिद गर्न नगद तथा क्यूआर मार्फत समेत भुक्तानी गर्न सकिने छ । तिहारमा धनतेरसको दिन सुन, चाँदीजस्ता बहुमूल्य धातुको असर्फी तथा सिक्का किन्ने चलन छ ।

Advertisement:

Ad
Ad